राप्रपाका सांसदहरूले पशुपतिनाथ दर्शन गरेका छन्।
नवनिर्वाचित सांसदहरूले आज पशुपतिनाथ दर्शन गरेको संसदीय दल नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए।
राप्रपामा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी कूल ५ सांसद छन्।
आज सांसदहरू ज्ञानेन्द्र शाही, खुस्बु ओली, भरत गिरी र सरस्वती लामाले पशुपतिनाथ दर्शन गरेका हुन्।
त्यसपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताएका थिए।
‘हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौं भन्ने कामनाका साथ यहाँ आएका हौं,’ उनले भने।
उनले आगामी दिनमा संसदमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि बताएका थिए।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज दिउँसो शपथ खुवाउने तयारी छ।