इरानसँग जारी युद्धका कारण सरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण मे महिनामा हुने भएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटेर केही महिनाअघि चीनसँग भएको व्यापार सुलहलाई अन्तिम रूप दिन ट्रम्प मार्चको अन्त्यमा चीन जाने कार्यक्रम थियो।
तर युद्ध चलिरहेको बेला आफु अमेरिकामै हुनु जरूरी भएको भन्दै उनले सो भ्रमण स्थगित गरेका थिए।
आफ्नो सामाजिक संजाल ट्रुथ सोसियलमा बुधबार पोस्ट गर्दै उनले अब मे १४ र १५ मा चीन भ्रमण गर्ने जानकारी दिएका छन्। "हाम्रा प्रतिनिधिहरूले यी ऐतिहासिक भ्रमणहरूको तयारी अन्तिम रूप दिइरहेका छन्। राष्ट्रपति सीसँग समय बिताउन म निकै उत्साहित छु, जुन म निश्चित छु कि एक स्मरणीय घटना हुनेछ," ट्रम्पले लेखेका छन्।
ट्रम्पले भ्रमण गरे आठ वर्ष पछि कुनै पनि अमेरिकी राष्ट्रपतिको पहिलो चीन भ्रमण हुनेछ।
चीनको भ्रमण स्थगित गर्नु अघि चीनले 'स्ट्रेट अफ हर्मुज' खुलाउन सहयोग नगरे भ्रमण ढिला गर्ने उनले धम्की दिएका थिए।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि हमला गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ।
त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।
सो जलमार्ग खुलाउन अहिले पनि ट्रम्पले प्रयत्न गरिरहेका छन्।
युद्ध रोक्नका लागि अहिले अमेरिकाले इरानसँग वार्ता गर्न खोजिरहेको छ। वार्ता सफल नभए विश्व अर्थतन्त्रमा समस्या आउन नदिन ट्रम्पले बल प्रयोग गरेर भए पनि हर्मुज खुलाउने भनेका छन्।
उनले मे महिनामा चीन भ्रमण गर्ने पक्का गरेकाले इरानसँगको युद्ध चाँडै अन्त्य हुन उनले अपेक्षा गरेको देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)