अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गर्ने भनेर फेरि छल गर्लान् भनेर इरान सशंकित देखिएको छ।
इरानसँग वार्ता गरिरहेकै बेला गत जुनमा र यसपालि समेत अमेरिकाले सैन्य आक्रमण गरेको थियो। दुई पटक वार्ता गरेर झुक्क्याएका ट्रम्पले फेरि पनि त्यसो गर्ने शंका वार्ताका लागि मध्यस्थता गरिरहेका देशहरूसँग इरानले व्यक्त गरेको छ।
अहिले पनि अमेरिकाले मध्यपूर्वमा ठूलो संख्यामा थप सैनिक परिचालन गर्ने निर्णय गरेको देखाउँदै त्यस्तो शंका बढेको इरानले बताएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
इरानको त्यस्तो शंकाको निवारण गर्नका लागि यसपालि ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई वार्ता गर्न पठाउन लागेको मानिन्छ। फेब्रुअरीमा ओमानको मध्यस्थतामा इरानसँग भएको वार्तामा ट्रम्पले विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नरलाई पठाएका थिए।
अमेरिकाले युद्ध अन्त्य गर्न इरानसँग १५ सर्त राखेको छ। अमेरिकाले युद्ध सुरू हुनुअघि राखेकै आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने, ब्यालेस्टिक मिसाइल कार्यक्रमको विस्तार रोक्नुपर्ने, अरू देशमा विभिन्न समूह सञ्चालन नगर्ने लगायत सर्त यसपटक पनि राखेको बताइन्छ।
इरानले पनि जारी युद्ध रोक्न अमेरिकासँग कडा सर्तहरू राखेको छ।
अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी बाहेक अमेरिकाले इरानमा आक्रमण गरेको क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सेना फिर्ता लानुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गरेबापत इरानलाई जहाजहरूले शुल्क तिर्नुपर्ने लगायत सर्त पनि राखेको जर्नलले जनाएको छ।
त्यसबाहेक इसराइलले लेबननमा रहेको इरान संचालित हिजबुल्लाह समूहलाई प्रहार गर्न बन्द गर्नु पर्ने र आफ्नो मिसाइल कार्यक्रम पनि बिना कुनै सर्त सञ्चालन गर्नु पाउनु पर्ने भनेको छ।
इरानको सत्तामा पछिल्लो समय इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजिसी) झन् धेरै शक्तिशाली भएकाले यस्ता कडा सर्त राखेको मानिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)