राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विद्यालय पोसाक (स्कुल ड्रेस) मै शपथ लिएका छन्।
बिहीबार सिंहदरबारस्थित संघीय संसद भवनमा नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका थिए।
शपथ समारोहमा सांसदहरू आ-आफ्नो वेशभूषा लगाएर उपस्थित हुँदा सांसद अन्सारी भने स्कुल ड्रेसमा उपस्थित थिए।
फागुन २१ को निर्वाचनमा उनी बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।
'मलाई ३५ वर्षअघि बुबाले विद्यालय लिएर जानुभएको थियो। ७४ वर्षीय मेरो बुबा आज मलाई संसद भवनमा लिएर आउनुभएको छ। यो उहाँका लागि गर्वको विषय होला,' उनले पत्रकारहरूसँग भने, 'मैले सम्पूर्ण अभिभावकहरूलाई सम्मान गर्ने मौका पाएको छु। ती सम्पूर्ण अभिभावकहरू जसले आफ्ना बच्चालाई विद्यालय पठाए र ती अभिभावकहरू जसले बच्चा विद्यालय पठाउन सकेका छैनन्। उनीहरूलाई पनि म यो सन्देश दिन चाहन्छु, हाम्रो सफलता र समृद्धिको यात्रा विद्यालयबाट सुरू हुन्छ।'
यो खुसीको अंशियार आफ्ना बुवा र शिक्षकलाई भएको पनि उनले बताए।