अमेरिकाले इरानलाई युद्बविरामका लागि १५ बुँदे प्रस्ताव पठाएको छ।
यही साताको सुरूवातमा अमेरिकाले मध्यस्थकर्तामार्फत इरानलाई युद्धविरामका लागि १५ बुँदे प्रस्ताव पठाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
युद्धविरामका लागि अमेरिकी प्रस्तावमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने, तीन ठूला परमाणु भट्टीहरू; फर्दो, नतान्ज र इस्फहान बन्द गर्ने, समृद्ध गरिएका युरेनियम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए)लाई बुझाउने लगायत उल्लेख छ।
त्यस्तै इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने, हर्मुज समुद्री मार्ग पूर्ण रूपमा खुला गर्ने लगायतका सर्त रहेको अमेरिकी पत्रिका फरेन पोलिसीले जनाएको छ।
इरानले इसराइलमाथि घेराबन्दी गर्न लेबननमा हिजबुल्लाह, यमनमा हुथी, प्यालेस्टाइनमा हमासलाई पैसा र हतियार दिँदै आएको छ।
अमेरिकाले यो कार्य पनि पूर्ण रूपमा बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
अमेरिकी प्रस्ताव स्वीकार गरेको खण्डमा अमेरिकाले इरानमाथिको सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने, नागरिक परमाणु ऊर्जा सम्बन्धी कार्यक्रमलाई सहयोग र सो कार्यक्रमलाई अन्तर्राष्ट्रिय रूपमा निगरानी राखिने भनेर फरेन पोलिसीले लेखेको छ।
अमेरिकाले भने यो इरानलाई पठाएको प्रस्ताव सार्वजनिक गरेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताका लागि इरान तयार भएको बताए।
'परमाणु हतियार बनाउन रोक्ने विषयमा इरान सहमत छ। उनीहरू सम्झौता गर्न चाहन्छन्। तर आलोचना हुने डरले बाहिर भनेका छैनन्,' ट्रम्पले भनेका छन्।
यद्यपि इरानले अमेरिकी प्रस्ताव पाएको चौबीस घन्टामै अस्वीकार गरिदिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेसले जनाएको छ।
उसले अमेरिकाको प्रस्तावमा काउन्टर प्रस्ताव तयार गरेको एपीले जनाएको छ।
इरानी विदेशमन्त्री अब्बास अरागचीले सरकारी टेलिभिजनसँगको कुराकानीमा मध्यस्थकर्तामार्फत युद्धरत दुई पक्षबीच सन्देश आदान-प्रदान भइरहेको बताएका छन्। तर सन्देश आदान प्रदान हुनुलाई अमेरिकासँग वार्ता भइरहेको भनेर अर्थ्याउनु गलत हुने पनि उनले बताएका छन्।
इरानले अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी बाहेक अमेरिकाले इरानमा आक्रमण गरेको क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सेना फिर्ता लानुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गरेबापत इरानलाई जहाजहरूले शुल्क तिर्नुपर्ने लगायत सर्त पनि राखेको अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले जनाएको छ।
त्यसबाहेक इसराइलले लेबननमा रहेको इरान संचालित हिजबुल्लाह समूहलाई प्रहार गर्न बन्द गर्नु पर्ने र आफ्नो मिसाइल कार्यक्रम पनि बिना कुनै सर्त संचालन गर्नु पाउनु पर्ने भनेको छ।
इरानको सत्तामा पछिल्लो समय इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजिसी) झन् धेरै शक्तिशाली भएकाले यस्ता कडा सर्त राखेको हो।
इरानका माग हास्यस्पद र सम्बोधन गर्न नसकिने भएको वार्ताबारे जानकार एक अमेरिकी अधिकारीले प्रतिक्रिया दिएको पनि जर्नलले लेखेको छ।
इरानले ४८ घन्टाभित्र 'स्ट्रेट अफ हर्मुज' नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच दिनसम्म ऊर्जा संरचनामा प्रहार नगर्ने घोषणा गरेका छन्।