नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरूका गलत प्रवृत्तिहरूबाट नचल्न निर्देशन दिएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिँदै पार्टीका स्थापित मान्यताबाट चल्न भनेका छन्।
‘अरूका गलत प्रवृत्तिहरू नचलौं। हाम्रा स्थापित मान्यताहरूबाट चलौं। अरूका अराजकताबाट नसिकौं। हामीभन्दा आधुनिक, एड्भान्स विचार बोक्ने कुनै पनि पार्टी छैन नेपालमा, हाम्रो पार्टी नै सबैभन्दा एड्भान्स विचार बोक्ने, संगठित विचार बोक्ने, प्रगतिशील विचार बोक्ने, परिवर्तनकारी विचार बोक्ने र अनुशासित ढंगले चल्ने पार्टी अर्को छैन। योभन्दा सही विचार बोकेर चल्ने पार्टी अर्को छैन। यसको भन्दा सही गन्तव्य अर्को पार्टी छैन। यसकारण यी कुरालाई बुझेर नै चल्नु आवश्यक छ। अनुशासित ढंगले चल्नु आवश्यक छ,’ उनले भने।
एमालेले दुवै सदनका पदाधिकारीहरू केही दिनभित्र चयन गर्ने पनि बताए।
‘कामका अभिभाराहरू सुम्पिइनेछ। त्यसलाई पार्टीले गरेको मूल्यांकन, पार्टीले ठानेको आवश्यकताअनुसार साथीहरू चल्नुपर्छ। मलाई यो पद चाहियो, मलाई त्यो पद चाहियो भन्ने हाम्रो शैली होइन,’ उनले भने।
पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने र त्यस कुरा जति बढी सफलताका साथ पूरा हुन्छ त्यस आधारमा मूल्यांकन हुँदै जाने उनले बताए।
‘मूल्यांकन कामको आधारमा हुन्छ। व्यक्ति हेरेर मूल्यांकन होइन, काम हेरेर मूल्यांकन हुन्छ। अनुहार हेरेर मूल्यांकन होइन। कामबाहेक अरू आधार क्षेत्रीय, जातीय, धार्मिक, लैंगिक अरू आधार हेरेर मूल्यांकन हुँदैन। मूल्यांकन काम हेरेर हुने हो। यो ठाउँको भएकाले मेरो मूल्यांकन हुनुपर्छ भन्ने होइन,’ उनले भने।