नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो टिप्पणी गरेका हुन्।
उनले जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रस्तुत गर्न नसकेको बताए।
प्रतिवेदनले २३ भदौको जेनजी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ गतेका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न नसकेको बताए।
चालिसेले प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानूनविद्, प्रशासनका जानकार, जेनजी आन्दोलनका अभियानी तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको जानकारी समेत दिए।
उनले भने, ‘जेनजी आन्दोलनको जाँचबुझ आयोगको जुन प्रतिवेदन आएको छ यो प्रथम दृष्टिमै अपूर्ण देखिएको छ। अलि अधुरो देखियो। यसले पूर्णतः बोकेको देखिँदैन। २३ गतेको आन्दोलको बारेमा जति प्रकाश पार्ने कोसिस गरेको छ। २४ गतेको घटनालाई अलपत्र छोडेको देखियो। यद्यपि प्रतिवेदनलाई हामीले राम्ररी अध्ययन गर्न बाँकी छ। त्यो प्रतिवेदनलाई हामी सिरियस्ली हेर्छौं। हामी प्रतिवेदनबारे धारणा बनाउनको लागि कानूनका ज्ञाता तथा प्रशासनमा दक्षता भएका व्यक्तिहरू, जेनजी आन्दोलनका अभियान्ताहरू र विज्ञहरूको समिति बनाएर यसको हामीले अध्ययन गर्छौं। अध्ययन गरेर हामी जेनजी जाँचबुझ आयोग र मानव अधिकार आयोगको प्रतिवेदनबारे आफ्नो धारणा बनाउँछ।’
उक्त समितिले अध्ययन गरिसकेपछि जेनजी आन्दोलन जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ छ। –न्युज एजेन्सी नेपाल