मुलुकले शुक्रबार नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज मध्याह्न १२ः३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउनेछन्।
त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ।
शपथ ग्रहणका अवसरमा सात जना ब्राह्मणले शंखनाद गर्नेछन्। १०८ बटुकहरूले स्वस्तिवाचन गर्नेछन्। त्यस्तै १६ भिक्षुहरूले अष्टमंगल पाठ गर्नेछन्।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो।
शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ। सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए। बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन्।