राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका सुधन गुरूङ गृहमन्त्री बनेका छन्।
बालेन शाह नेतृत्वको मन्त्रिपरिषदमा गुरूङ गृहमन्त्री बनेका हुन्।
३८ वर्षीय उनी गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिवासस्थित पाङसिङ गाउँका हुन्। उनको परिवार पनि राजनीतिक पृष्ठभूमिकै हो।
उनका बुवा दिलबहादुर गुरूङ तत्कालीन माओवादीमा आबद्ध थिए भने समाज सेवामा समेत सक्रिय थिए।
सुधनले हामी नेपालका संस्थापक अध्यक्ष भएर सामाजिक क्षेत्रमा काम गरेका थिए। २०७२ सालको भूकम्पका बेला उनले राहत तथा उद्धारका क्षेत्रमा काम गरेका थिए।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा पनि सुधन सहभागी थिए। त्यसपछि उनको नाम चर्चामा आएको थियो।
उनले त्यसबेला आफूले 'पानी बाँड्ने, ब्यानरहरू बनाउने र एम्बुलेन्स व्यवस्थापन' को काम गरेको बताएका थिए।
जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो।
पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार नबनुन्जेलसम्म पनि सुधनले समन्वयकारी भूमिका खेलेका थिए।
उनले पटक पटक राष्ट्रपति कार्यालय पुगेर छिटो प्रधानमन्त्री नियुक्त गर्न भनेका थिए।
प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले सुधनलाई 'जेठो छोरा' समेत भनेकी थिइन्।
सुधन २०४४ साल असार २५ गते जन्मिएका हुन्।
सुधन प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समयकै बेला रास्वपामा सक्रिय भएका थिए।
त्यसअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहबीच संवाद गराउने भूमिकामा उनी पनि सक्रिय थिए।
ललितपुरस्थित कुमार बेनको घरमा रवि र बालेनलाई छलफलमा राखेर गुरूङले 'कुरा नमिल्दासम्म बाहिर निस्कन नदिन आफू सेन्ट्री' बसेकोसमेत भनेका थिए।
पछि तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङ र उनीनिकट दल उज्यालो नेपाललाई रास्वपामा समाहित गराउने भूमिकामा पनि सुधनको सक्रिय भूमिका थियो। यद्यपि कुलमान रास्वपामा बसेनन्, उज्यालो नेपाल पार्टी अध्यक्ष बने र चुनाव लडे।
सुधनले आफू प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि सेवा सुविधा नलिने बताएका थिए।
रास्वपाले राखेको अभिमुखीकरणमा सहभागी भएका बेला उनले सेवा सुविधा नलिने बताएका हुन्।
‘म त (तलब) खान्नँ नि! किन तलब खानु र ‘नखाने, किन तलब खानु जरूरी छ र? सक्षम छौं,’ उनले भनेका थिए।
चुनावी प्रचारका क्रममा: सुधनले गोरखाका कतिपय ठाउँहरूमा बोल्ने क्रममा आफू गृहमन्त्री बन्नेसमेत बताएका थिए।
गृहमन्त्री हुने शर्तमा आफू रास्वपाको घन्टी चिह्नमा चुनाव लडेको उनको जिकिर थियो।