नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपभापति पनि हुन्।
वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यवारिधि गरेका छन्।
वाग्लेसँग राष्ट्रसंघीय विकास कार्यक्रम (युनडिपी) को एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव छ। उनले सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस), विश्व बैंक र काठमाडौं विश्वविद्यालयमा पनि आबद्ध भएर काम गरेका थिए।
वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा सक्रिय हुनुअघि नेपाली कांग्रेसमा आबद्ध थिए। उनलाई शेरबहादुर देउवाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका थिए।
वाग्ले देशको आर्थिक नीति योजना कार्यक्रम र वैचारिक विमर्शहरूमा सक्रिय रहँदै आएका छन्। २०७२ सालको महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आकलन गर्ने र अन्तर्राष्ट्रिय सहयोग जुटाउने काममा उनले भूमिका खेलेका छन्।
उनले लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरेका छन्। सन् २०२२ मा उनले क्याम्ब्रिज युनिभर्सिटीको 'द ग्रेट अपहिभेल' को सह-सम्पादकका रूपमा काम गरेका थिए।
वाग्लेले नेपालमा अर्थतन्त्र सुधारको क्षेत्रमा वकालत गर्दै आएका छन्। उनले आउँदो पाँच-सात वर्षभित्रै नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) एक सय अर्ब रूपैयाँ बनाउनुपर्ने धारणा राख्दै आएका छन्।
फागुन २१ को निर्वाचनअघि नै वाग्लेलाई रास्वपा सभापति रवि लामिछानेले भावी अर्थमन्त्रीका रूपमा प्रचार गरेका थिए। साथै, बजेट लेख्न तयारी गर्न निर्देशन दिएका थिए।
उनले विगतमा प्रतिनिधिसभाका बैठकहरूमा विकृत निर्माण व्यवसायी र खराब राजनीतिज्ञको 'नेक्सस' तोड्नुपर्ने तर्क गर्दै आएका छन्। निजी क्षेत्रलाई खुम्च्याइएको र उत्पादनमूलक क्षेत्रमा लगाउन सकिने पुँजी सरकारले सोसेर अनुत्पादक क्षेत्रमा प्रयोग गरेको बताउने गरेका छन्।
२०७५ सालको सार्वजनिक क्षेत्र पुनरवलोकन गर्ने आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ। यसमा विकास समिति ऐन र परिषदहरू खारेज वा मर्जर गर्नुपर्ने धारणा राख्ने गरेका छन्।