प्रधानमन्त्री बालेन शाहले काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद शिशिर खनाललाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन्।
यसअघि २०७९ सालको चुनावपछि सरकारमा पुगेको रास्वपाले त्यति बेला खनाललाई शिक्षामन्त्री बनाएको थियो।
काठमाडौंको गोंगबु घर भएका खनालले सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका थिए। त्यसपछि त्रिचन्द्र कलेजबाट आइएसी पढेका खनालले राजनीतिक अर्थशास्त्रमा अमेरिकाको बृजपोर्ट विश्वविद्यालयबाट स्नातक गरे।
अमेरिकाकै युनिभर्सिटी अफ विस्कन्सिनमा सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्केका खनालले सुरूमा सर्वोदय अभियानमा काम गरेका थिए।
उनले सन् २०१२ मा 'टिच फर नेपाल' स्थापना गरे। यो संस्थाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न स्वयंसेवी शिक्षकलाई दुर्गमका गाउँ गाउँ पठाउने काम गरेको थियो। त्यसबाहेक शिक्षकहरूलाई आवश्यक पर्ने तालिम दिने लगायतका काम पनि यो संस्थाले गर्थ्यो।
अमेरिकामा पढ्दा अन्तर्राष्ट्रिय विद्यार्थीबाट कलेज सिनेटर भएका उनले कनेक्टिकट राज्यसभा (प्रदेश संसद) का सिनेटरसँग काम गरेका थिए। सिनेटरको निर्वाचन क्षेत्रका मुद्दा पहिचान र नीति बनाउन सहयोग गरेको अनुभव उनीसँग छ।
नेपाल फर्केर शिक्षाक्षेत्रमा काम गरेका खनालले २०७९ सालको स्थानीय निर्वाचन क्रममा नेपाली कांग्रेसको घोषणापत्र बनाउने कार्यदलमा थिए।
२०७९ सालमा काठमाडौं-६ बाट संसदीय चुनाव लड्ने तय गरेका खनाल पछि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिए। पहिलो पटक लडेको संसदीय चुनावमै उनी आफ्ना प्रतिस्पर्धीसँग फराकिलो मतान्तरले जितेका थिए।
त्यति बेला उनको पार्टी रास्वपाले २१ सिट जितेको थियो। चुनावपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने भयो। सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री भएर सरकारमा जाँदा शिक्षा क्षेत्र सुधारका लागि काम गरेको अनुभव भएका खनाल शिक्षामन्त्री भएका थिए।
उनले सांसदको तीनवर्षे कार्यकालमा अन्तर्राष्ट्रिय समिति सदस्यका रूपमा पनि काम गरेका थिए। उनी तत्कालीन समयमा उठेका समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाबारे संसदको शून्य समयमा उठेर प्रश्न गरिरहने सांसदमा पर्छन्।
उनले आफ्ना सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोप लागेपछि त्यसको छानबिन गर्न बनेको समितिमा बसेर पनि काम गरेका थिए।