राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य सोविता गौतम कानुनमन्त्री बनेकी छन्।
चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लडेर भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहालाई हराएकी गौतमले ५९ हजार २७७ मत प्राप्त गरेकी थिइन्।
राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक चुनाव लड्दा गौतम काठमाडौं-२ मा उम्मेदवार थिइन्। पहिलो पटकमै चुनाव जितेकी गौतमले त्यतिखेर पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीलाई पराजित गरेकी थिइन्।
राजनीतिमा आउनुअघि उनी सञ्चार क्षेत्रमा काम गर्थिन्। उनले नेपाल टेलिभिजनमा 'स्वास्थ्य सरोकार' जस्तो स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाउँथिन्।
गौतम कानुनकी विद्यार्थी हुन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेसनल कलेजबाट बिए एलएलबी गरेकी छन्।
तीनवर्षे संसदको कार्यकालमा सोबिताले संसदको कानुन, न्याय र मानवअधिकार समिति सदस्य भएर काम गरेकी थिइन्।
नेपालबाट इन्टर पार्लियामेन्टरी युनियन सदस्य बनेकी उनी स्वास्थ्य समिति सदस्यमा निर्वाचित भएकी थिइन्। उक्त युनियनमा स्वास्थ्य र समावेशी नीति निर्माणमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।
तीनवर्षे कार्यकालमा उनले भूमि, अर्थ, शिक्षा, स्वास्थ्य लगायत विभिन्न कानुन सुधार गर्न विधेयकहरूमा संशोधन प्रस्ताव हालेकी थिइन्।