दाङमा श्रीमतीको हत्या आरोपमा वन कार्यालयका एक जना अधिकृत पक्राउ परेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका –१९ मा बिहीबार बेलुका २८ वर्षीया कमला वलीको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता बाबुराम बस्नेतका अनुसार दाउरा र रड प्रहार गरी कमलाको हत्या भएको थियो।
हत्या आरोपमा कमलाका श्रीमान ३६ वर्षीय गोपाल वली पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको निमित्त प्रवक्ता बस्नेतले जानकारी दिए।
गोपाल डिभिजन वन कार्यालय वीरगंजमा लेखा अधिकृत हुन्।
बिहीबार बेलुका करिब ६ बजेतिर घर भित्रै वन अधिकृत गोपालले श्रीमती कमला माथि आक्रमण गरी सक्त घाइते तुल्याएका थिए। गम्भीर अवस्थाकी कमलालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो।
उपचार क्रममा बेलुकी साढे ७ बजेतिर उनको मृत्यु भएको इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोदराज खत्रीले बताए।
चैत १ गते मात्रै गोपालका भाइ कक्षा ११ मा पढ्ने १७ वर्षीय महेन्द्र वलीले रुकुम पश्चिमस्थित झोलुङ्गे पुलबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको थियो।
महेन्द्रले प्रेममा धोका पाएको भन्दै पुलबाट हाम फालेका थिए। उनीहरुको स्थायी घर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १० हो।
हत्या आरोपी गोपाल यसअघि रुकुम पश्चिममा वडा सचिवको रुपमा कार्यरत थिए। पछिल्लो केही वर्षयता तुलसीपुरमा वली परिवार आफ्नै घर जग्गामा बस्दै आएको थियो।
गोपाल भाइको काज किरियाको काम सकेर दुई दिन अघि मात्रै तुलसीपुरस्थित घरमा आएको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ।
कमलाका एक आफन्तका अनुसार परिवारका अरू सदस्यका अगाडि नै गोपालले घरभित्र उनीमाथि निर्घात कुटपिट गरेका थिए।
'उनका बुवा आमाले समेत छुटाउन नजानुले कमला हत्या योजना मिलेमतोमा र योजना बद्ध रुपमा त भएको होइन भन्ने हामीलाई आशंका भइ रहेको छ,’ उनले भने, ‘गोपाल मात्रै होइन उनका बुवा आमा माथि पनि अनुसन्धान हुनु पर्छ।’
हत्या गरिएकी कमला र गोपालबाट १० वर्ष भन्दा कम उमेरका एक छोरा र छोरी छन्। छोराले यसअघि पनि बुवा र आमाको बीचमा झगडा हुने गरेको तथा बुवाले जहिलै आमामाथि कुटपिट गर्ने तथा यातना दिने गरेको बयान प्रहरी समक्ष गरेका छन्।
आफन्तका अनुसार कमलाले श्रीमानको यातनाका कारण माना चामल सम्बन्धि मुद्दा पनि दिएकी थिइन्। त्यो मुद्दा अदालतमा विचाराधीन छ।
गोपालले श्रीमती कमलाको हत्याको कारण प्रहरी समक्ष खोलेका छैनन्। यद्यपि प्रारम्भिक बयानका क्रममा उनले घरको माथिल्लो तलाको भान्सा कोठामा भएको भनाभनका क्रममा आफुले आबेगमा आइ दाउरा रड लगाएतका बस्तुले आक्रमण गरी हत्या गरेको स्वीकार भने गरेको प्रहरी अधिकारीले बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आपसी शंका आशंकाका कारण केही समय यता श्रीमान श्रीमती बीचमा राम्रो सम्बन्ध नहरेको भन्ने खुलेको छ।
सोही शंका आशंकाकै कारण आपसी विवादका क्रममा गोपालले श्रीमती कमलामाथि निर्मम तरिकाले दाउरा रड लगायतका बस्तुले आक्रमण गरी हत्या गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।