पर्यटकीय नगरी पोखराका लेखक गनेश पौडेल बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा पर्यटन तथा संस्कृति मन्त्री बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की-१ को प्रत्यक्ष चुनाव जितेका पौडेल पोखराको मझेरीपाटनका बासिन्दा हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्।
उनका दुई किताब प्रकाशित छन् — पैताला र मुसा मानुस। 'पैताला' उनको आफ्नै उपन्यास हो भने ‘मुसा मानुस’ अमेरिकी लेखक जोन स्टेनबेकको कृति 'अफ माइक एन्ड मेन' को अनुवाद हो।
गनेशले यसअघि २०७९ सालको स्थानीय निर्वचनमा पोखरा महानगरको स्वतन्त्र मेयरमा उम्मेदवारी दिएका थिए। सार्वजनिक सम्पत्ति, फेवाताल संरक्षण र सिंगो पोखराको विकासमा पुराना दलले काम गरेको चित्त नबुझेपछि आफूले उम्मेदवारी दिएको बताएका थिए। त्यतिखेर उनले शिक्षा सुधारको विषयलाई पनि प्रमुखताका साथ उठाएका थिए।
त्यतिबेला काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन शाहले पाएको लौरो नै उनको पनि चुनाव चिह्न थियो। काठमाडौंमा बालेन मेयर भए तर पोखरामा गनेश पराजित भए। त्यति बेला उनले ३ हजार ३० मत ल्याएका थिए।
चुनावपछि काठमाडौंका मेयर बनेका बालेन शाहलाई उनले नजिकबाट सहयोग गरेका थिए। बालेन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँग गनेश पनि आए। त्यसपछि उनले कास्कीको टिकट पाएका हुन्।
यसपालिको संसदीय निर्वाचनमा कास्की-१ बाट गनेसले ३९ हजार ८८३ मत ल्याए। पहिलो पटक चुनाव जितेका र लेखकको पहिचान बनाएका गनेशलाई बालेनले पर्यटनमन्त्री बनाएका हुन्।