कञ्चनपुरकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री बनेकी छन्।
साधारण थारू परिवारमा जन्मिएकी गीता निरन्तर संघर्षको जगमा देशको कार्यपालिकामा पुगेकी हुन्। उनको सफलताको कथा प्रेरणादायी र अनुकरणयोग्य छ।
गीताका अनुसार उनको बाल्यकाल आर्थिक अभावमा बित्यो। साहु काढ्दै पढ्नुपर्ने पढ्नुपर्ने अवस्था थियो। उनले कानुन संकायमा स्नातकोत्तर गरेकी छन्।
पछिल्लो समय उनको छवि कानुनवेत्ताका रूपमा थियो। उनी दीनहीनहरूको अधिवक्तासमेत थिइन्।
कञ्चनपुरकी स्थायी बासिन्दा उनी आफ्नो क्षेत्रका १५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई आइपरेको कानुनी झमेलामा परामर्श दिइन्।
विशेष गरी आर्थिक रूपमा कमजोर रहेकाले व्यहोरिरहेका जग्गा विवाद र घरेलु हिंसाका मुद्दामा उनले कानुनी सहायता प्रदान गरिन्।
राजनीतिक रूपमा उनी २०६२–०६३ को आन्दोलपछि जोडिएकी हुन्। तत्कालीन समयमा उनी नेकपा एमालेमा आबद्ध थिएन्। अनेरास्ववियुबाट उनको राजनीतिक यात्रा आरम्भ भएको हो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा उनले एमाले त्याग गर्दै तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन्। तर पराजित भइन्।
भूमिहीन समस्या समाधान, सुकुमबासी र आरक्ष पीडितलाई लालपुर्जा दिलाउन पहल गर्ने, सरकारी विद्यालयमा डिजिटल ल्याब बनाउने र किसानलाई समयमै मल–बिउ उपलब्ध गराउने लगायत उद्देश्य बोकेकी चौधरी अब यी कुरा सम्बोधन गर्ने ठाउँमा पुगेकी छन्।