रूपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सुनिल लम्साल भौतिक, पूर्वधार तथा यातायात मन्त्री भएका छन्।
उनी रूपन्देही-१ मा ५४ हजार ८४५ मत प्राप्त गरी निर्वाचित भएका थिए।
तिलोत्तमा नगरपालिका वडा नम्बर ७ घर भएका ३५ वर्षीय उनी पूर्वाधार क्षेत्रमा काम गर्दै आएका इन्जिनियर हुन्। उनी प्रधानमन्त्री बालेन शाहका साथी समेत हुन्।
काठमाडौं महानगरपालिकामा शाह मेयर हुँदा उनले सचिवालयमा रहेर पूर्वाधार सल्लाहकारका रूपमा काम गरेका थिए।
उनले फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनलाई केन्द्रमा रहेर काम गरेको सचिवालयले जनाएको छ।
उनले हाल काठमाडौं विश्वविद्यालयबाट फोहोर व्यवस्थापनमा विधावारिधि अध्ययनरत छन्।
उनले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभल इन्जिनियरिङ गरेका थिए।
उनी उक्त कलेजको स्ववियु सभापति समेत निर्वाचित भएका थिए। त्यस्तै उनको २०६२/६३ जनआन्दोलनमा सक्रिय सहभागिता रहेको पनि सचिवालयले जनाएको छ।
त्यस्तै, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका योजनामा समेत काम गरेका छन्।