राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती प्रशासनभित्र गठन भएका समूह, अभियान वा युनियन जस्ता संयन्त्रसँग पार्टीको समर्थन नरहेको उल्लेख गरेको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गर्दै कसैले पार्टी र नेतृत्वको नाम जोडेर स्वार्थ सिद्ध गर्न खोजे त्यस्तो भ्रममा नगर्न पनि आग्रह गरेका छन्।
‘निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको र कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हामी आम कर्मचारी र सरोकारवालाहरूमा हार्दिक अपिल गर्दछौं,’ उनले भनेका छन्।
यस्तो छ विज्ञप्ति-
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि नै मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्छ भन्ने स्पष्ट मान्यता राख्दै आएको छ। हालै सम्पन्न भएको आम निर्वाचनमा समेत निजामती सेवालाई तटस्थ, निष्पक्ष र व्यवसायिक बनाएर सार्वजनिक सेवा प्रवाह एवम् विकास व्यवस्थापनलाई प्रभावकारी बनाउने गरी यस क्षेत्रको सुदृढीकरणका लागि केही वाचाहरु प्रस्तुत गरिएको विषय विदितै छ।
पछिल्लो समय निजामती सेवाभित्र विभिन्न नामका समूह वा अभियानहरू सञ्चालन गर्ने र त्यस्ता गतिविधिमा यस पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको सूचना तथा त्यसप्रकारका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको र कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हामी आम कर्मचारी र सरोकारवालाहरूमा हार्दिक अपिल गर्दछौं।
हामी विश्वास गर्छौं कि कर्मचारीको एक मात्र धर्म 'जनसेवा' र एक मात्र पहिचान 'व्यावसायिकता' हो। कुनै पनि राजनीतिक दलको ओत लाग्ने वा शक्ति केन्द्रको नाममा प्रशासनिक संयन्त्रलाई प्रभाव पार्ने कार्य हाम्रो आदर्श र नीतिको विपरित छ। हामी अहिले पनि निजामती सेवालाई 'मेरिटोक्रेसी' (योग्यता प्रणाली)का आधारमा चलाउनुपर्ने र कर्मचारीहरू केवल राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने पक्षमा दृढ छौँ।
विगतमा जस्तै प्रशासनलाई थर्काउने, डर वा त्रास सिर्जना गर्ने वा दलीय आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने विषयमा आम सरोकारवालामा स्पष्ट पार्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा समूहको प्रभावमा नपरी, पूर्ण तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनताको सेवामा समर्पित हुन हार्दिक अपिल गर्दछौं।
कविन्द्र बुर्लाकोटी, महामन्त्री