नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन शाहको मिसन र भिजनअनुसार काम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दैं उनले सो प्रतिबद्धता व्यक्त गरे।
मन्त्री तिमिल्सिनाले मन्त्रीको रूपमा आफूलाई कुनै पनि खालको गल्ती गर्ने छुट नभएको पनि स्पष्ट पारे।
उनले राष्ट्रको हितमा गर्व गर्न लायक हुने गरी इमान्दारिताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिए। देशको हितमा कर्मचारीहरूले काम गर्नुपर्ने नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ थियो।
उनले भने, ‘मेरो दिल भित्रबाट, मेरो मनभित्रबाट मैले कहिल्यै पनि कुनै पनि गलत गर्ने छुट छैन। कुनै गल्ती भयो भने ती सहिदहरूको सराप ममाथि लाग्नेछ। म यो विषयमा एकदम धेरै चिन्तित पनि छु र फोकस भएर काम पनि गर्नेछु। र यहाँहरू हरेकले आफ्नो तह र तप्काबाट यो मेरो मिसनमा यो देशमा नयाँ सरकार आएको छ। बालेन्द्र साह प्रधानमन्त्री हुनुभएको छ। हरेक मन्त्रालयले उहाँको मिसन र भिजनमा साथ दिने हो। म हाम्रो मन्त्रालयको तर्फबाट त्यसको लागि म पूर्ण रूपमा कटिबद्ध छु र एज ए टिम तपाईंहरू सबैबाट एकदमै ठूलो इमानदारिताका साथ यहाँको जति जे क्षमता छ।’
उनले अगाडि भने, ‘त्यो क्षमताको पूर्ण सदुपयोग गरेर किनभने यहाँहरूले पनि भोलि यो मन्त्रालयबाट पनि रिटायर्ड हुनुपर्ला। जिम्मेवारीबाट पछि हट्नु पर्ला। त्यतिबेला गर्व गर्न लायक एउटा वातावरण बनोस् कि मैले यो देशले खोजेको बेलामा यति ठूलो योगदान गरेको थिएँ। त्यो दिन सम्झनालायक बनाउने जिम्मेवारी अब तपाईंको काँधमा पनि आएको छ। मेरो काँधमा पनि आएको छ। अब हामी एउटै परिवारजस्तो भएर यो देशको हितका लागि काम गर्नुपर्ने जिम्मेवारीमा छौँ।’
मन्त्री तिमिल्सिनाले हरेक कर्मचारीले आफ्नो क्षमताको पूर्ण रूपमा सदुपयोग गरेर काम गर्नुपर्ने बेला आएको पनि बताए। –न्युज एजेन्सी नेपाल