इरानसँग वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सभामुख र विदेश मन्त्रीलाई ‘हिट लिस्ट’ बाट हटाएका छन्।
अमेरिका र इसराइलले संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीसहित कैयौं वरिष्ठ सैन्य र राजनीतिक अधिकारीको हत्या गरेका थिए। त्यसपछि पनि धेरै वरिष्ठ अधिकारीहरू मारिएका छन्। नयाँ सर्वोच्च नेता मोज्तबा खमेनी सहित सबै वरिष्ठ अधिकारी र जनरलहरू अमेरिका र इसराइलको हिट लिस्टमा छन्।
पछिल्लो समयमा युद्ध अन्त्य गर्न अमेरिकाले इरानसँग वार्ताको प्रयास गरिरहेको छ। इरानका सबै वरिष्ठ अधिकारी र जनरलहरू आक्रमणबाट जोगिन लुकेर बसेकाले वार्ताका लागि दुई वरिष्ठ अधिकारीलाई अमेरिकाले हमला नगर्ने भएको हो।
ट्रम्पले केही दिन अघि इरानका दुई वरिष्ठ अधिकारीलाई ‘हिट लिस्ट’ बाट हटाएको टिप्पणी गरे पनि उनीहरूको परिचय खुलाएका थिएनन्। अमेरिकी पत्रिका 'द वाल स्ट्रिट जर्नल' ले भने ती अधिकारी सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेश मन्त्री अब्बास अराग्ची भएको खुलासा गरेको छ।
गत हप्ता इरानको सर्वोच्च सुरक्षा परिषद्का सचिव अलि लरिजानी मारिएपछि गालिबाफ अहिले इरानको सबभन्दा शक्तिशाली अधिकारी रहेको मानिन्छ।
पछिल्ला केही महिना इरानको शासन लरिजानीले चलाएको मानिन्थ्यो।
अमेरिका र इसराइलले संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता खमेनीलाई मारेपछि खमेनीभन्दा निर्दयी मानिने उनका माइला छोरा मोज्तबा खमेनीलाई सर्वोच्च नेता घोषणा गरिएको छ।
तर अलि खमेनीमाथिको आक्रमणका क्रममा नजिकैको कोठामा रहेका मोज्तबा आफै गम्भीर घाइते भएको समाचार आएका छन्।
उनको खुट्टा, हात र जिउमा चोट लागेको र उपचार भइरहेको मानिन्छ। सायद त्यसैले सर्वोच्च नेता घोषणा भए यता उनको कुनै पनि तस्बिर वा भिडिओ सार्वजनिक भएको छैन।
गत हप्ता इसराइली हमलामा नमरिउन्जेल इरानको शासन लरिजानीले नै चलाइरहेको मानिन्थ्यो।
इरानमा सत्ता चलाउने भनिएको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स’ (आइआरजिसी) सँग लरिजानीको राम्रो सम्बन्ध थियो। लरिजानीको मृत्युपछि मोज्तबा र आइआरजिसी दुवैसँग राम्रो सम्बन्ध भएका गालिबाफ नै सबैभन्दा शक्तिशाली गैरसैनिक अधिकारी रहेको मानिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)