नेकपा एमालेका नेताहरूले सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटातर्फ अग्रसर भएको बताएका छन्।
भदौ २३ को जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान निवासबाटै पक्राउ परेपछि एमाले नेता प्रदीप ज्ञवालीले प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार हिँडेको बताएका हुन्।
‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार,’ उनले फेसबुकमा लेखेका छन्, ‘तर उसले चाहे जस्तो हुने छैन।’
त्यस्तै एमाले सचिव राजन भट्टराईले प्रतिशोधपूर्ण राजनीतिले देशलाई द्वन्द्वतर्फ लाने भयो भन्दै चिन्ता व्यक्त गरेका छन्।
‘प्रतिशोध होइन, सहकार्य, संवाद र सहअस्तित्वको राजनीतिक संस्कार आज नेपाल र नेपालीका लागि आवश्यक हो,’ उनले पनि फेसबुकमा लेखेका छन्।
एमालेले शनिबार बिहान ८ः३० बजे सचिवालय बैठक बोलाएको छ। एमालेले सडक आन्दोलनको पनि तयारी गरेको छ। सचिवालय बैठकले यसबारे निर्णय लिनेछ।