नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन्।
भदौ २३ को जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक शनिबार पक्राउ परेका छन्।
लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रमक होइन संयम हुनु पर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्टराईले रिहाइको माग गरेका हुन्।
‘प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानु पर्छ। कानुनी राज्य र विधिको शासनको उपहास मान्य छैन। घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनु पर्छ। हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु। अविलम्ब रिहाइको माग गर्दछु,’ उनले भनेका छन्।
जनताबाट प्राप्त जनादेशको दुरूपयोग नहोस् भन्दै उनले सरकारको ध्यानाकर्षण गराखएका छन्।
‘हाम्रो पार्टीले कानुनी र राजनीतिक बाटो लिनुपर्छ। संयम र धैर्यकासाथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गर्नुपर्छ,’ भट्टराईले भनेका छन्।