नेपाल तरूण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
तरूण दलका अध्यक्ष विद्वान गुरूङले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको दाबी गरिएको छ। संगठनले यस्तो कदमले लोकतान्त्रिक मूल्य, कानुनी राज्य र विधिको शासनमाथि गम्भीर आघात पुर्याउने उल्लेख गरेको छ।
विज्ञप्तिमा हालको राजनीतिक परिस्थितिमा जनताको विश्वासका आधारमा वर्तमान सरकारले पाएको जनादेशलाई समृद्धिको दिशामा प्रयोग गर्नुपर्नेमा जोड दिँदै यस्ता निर्णयले देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्न सक्ने चेतावनी दिइएको छ।
नेपाल तरूण दलले सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुसार पारदर्शी तथा निष्पक्ष ढंगले अघि बढ्न तथा राजनीतिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ।
साथै देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी रहेको पनि संगठनले स्मरण गराएको छ।
विज्ञप्तिको अन्त्यमा शान्ति, स्थिरता र समृद्धिका लागि सबै राजनीतिक शक्तिबीच संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रलाई अस्थिरतातर्फ लैजाने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने प्रतिबद्धता तरूण दलले व्यक्त गरेको छ।