पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा नेकपा एमालेले देशैभर विरोध प्रदर्शन गरेको छ।
काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी लागेर युवराज ओलीको टाउको फुटेको छ। उनलाई सिंहदरबारको दक्षिण गेटमा प्रहरीको लाठी लागेको हो।
एमालेका २३ वटा जनसंगठनहरूले माइतीघरमा शनिबार अपराह्न विरोध प्रदर्शन गरेका थिए।
उनीहरूले वर्तमान सरकारविरूद्ध नारा लगाउँदै टायर समेत बालेका थिए। प्रदर्शनकारीहरूले केही निजी सवारी साधन समेत तोडफोड गरेका थिए।
माइतीघरको प्रदर्शन उग्र बन्दै जाँदा केही प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेट लागेका थिए। उनीहरूले सिंहदरबारमा ढुंगामुढासमेत गरेको प्रहरीले जानकारी दिएको छ।
सोही क्रममा प्रहरीले लाठीचार्ज गर्दा ओलीसहितका नेता घाइते भएका हुन्।
काठमाडौं निवासी ओलीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत भइरहेको एमाले सचिव महेस बस्नेतले जानकारी दिए। उनको टाउकोमा पाँच टाँका लगाइएको बस्नेतले बताएका छन्।
उनका अनुसार आजको प्रदर्शनका क्रममा राजु तिवारी, विमल धमला, जगराज शाही सहित ४ जना गिरफ्तार गरिएको छ।
‘माइतीघरतर्फको व्यारिकेड तोडिएको र सिंहदरबारको दक्षिण गेटमा सामान्य तोडफोड भएको खबर आएको छ, जुन अत्यन्त दुःखद घटना हो,’ उनले भनेका छन्, ‘सरकार सम्भावित अप्रिय घटना हुनुअघि नै सचेत बनोस्। पूर्वप्रधानमन्त्रीज्यूलाई तत्काल रिहा गरियोस्।’
सरकारको गलत निर्णयले दुई तिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरू भइसकेको उनको आक्रोश छ।
‘के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ? हिजो सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन्,’ उनले भनेका छन्।