अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानको तेल कब्जा गर्न चाहेको बताएका छन्।
आइतबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा आफ्नो प्राथमिकता तेल कब्जा गर्नु नै हुने बताएका छन्।
उनले इरानको खर्ग टापुको निर्यात केन्द्रलाई नियन्त्रणमा लिन सक्ने पनि जनाएका छन्। इरानले निर्यात गर्ने लगभग ९० प्रतिशत तेल खर्ग टापूबाट हुन्छ।
ट्रम्पले भने, ‘तपाईंलाई इमानदारीपूर्वक भन्नुपर्दा, मेरो मनपर्ने काम भनेको इरानको तेल कब्जा गर्नु हो। तर अमेरिकाका केही मूर्ख मानिसहरू भन्छन् 'तपाईं यस्तो किन गर्दै हुनुहुन्छ?' तर ती मानिसहरू मूर्ख हुन्।’
इरानले युद्ध सुरू भएपछि आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ।
त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।
त्यस कारण ट्रम्पले अहिले युद्ध अन्त्य गर्न इरानसँग वार्ताको प्रयास गरिरहेका छन्। इरानले वार्ता गर्न नमाने उनले स्थल आक्रमण गरेर भए पनि हर्मुज खोल्ने योजना बनाएका छन्। त्यसरी स्थल आक्रमण गरे उनले इरानको तेलमा कब्जा गर्ने भनेका हुन्।
अर्कोतर्फ इरानले आफ्ना सैनिक अमेरिकी थल सेनालाई पर्खेर बसिरहेको बताएको छ।
ट्रम्पले पछिल्ला दिनमा इरानसँग वार्ता गर्न प्रयास गरिरहे पनि इरान अहिलेसम्म वार्तामा बस्न तयार देखिँदैन। इरानले वार्ताद्वार युद्ध रोक्न नमाने अमेरिकाले इरानमाथि स्थल आक्रमण गर्ने तयारी गरिरहेको मानिन्छ।
यस्तोमा इरानी फौजले अमेरिकी सेनालाई कुरेर बसिरहेको इरानी सभामुख मोहम्मद बाघेर गालिबाफले बताएका छन्। अमेरिकी थल सेना आए उनीहरूलाई आगो लगाउन इरानी सेना पर्खेर बसिरहेको गालिबाफले चेतावनी दिएका छन्।
त्यस्तै, अमेरिकाले कूटनीतिक समाधानको सन्देश दिए पनि गोप्यरूपमा स्थल आक्रमणको तयारी गरिरहेको पनि उनले दाबी गरेका छन्।
ट्रम्पले वार्ता गर्ने भनेर फेरि छल गर्लान् भनेर इरान सशंकित छ।
इरानसँग वार्ता गरिरहेकै बेला गत जुनमा र यसपालि समेत अमेरिकाले सैन्य आक्रमण गरेको थियो। दुई पटक वार्ता गरेर झुक्क्याएका ट्रम्पले फेरि पनि त्यसो गर्ने शंका वार्ताका लागि मध्यस्थता गरिरहेका देशहरूसँग इरानले व्यक्त गरिसकेको छ।
अहिले पनि अमेरिकाले मध्यपूर्वमा ठूलो संख्यामा थप सैनिक परिचालन गरेको छ।
इरानको त्यस्तो शंकाको निवारण गर्नका लागि यसपालि ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई वार्ता गर्न पठाउन लागेको मानिन्छ। फेब्रुअरीमा ओमानको मध्यस्थतामा इरानसँग भएको वार्तामा ट्रम्पले विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नरलाई पठाएका थिए।
अमेरिकाले युद्ध अन्त्य गर्न इरानसँग १५ सर्त राखेको छ। अमेरिकाले युद्ध सुरू हुनुअघि राखेकै आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने, ब्यालेस्टिक मिसाइल कार्यक्रमको विस्तार रोक्नुपर्ने, अरू देशमा विभिन्न समूह सञ्चालन नगर्ने लगायत सर्त यसपटक पनि राखेको बताइन्छ।
इरानले पनि जारी युद्ध रोक्न अमेरिकासँग कडा सर्तहरू राखेको छ।
अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी बाहेक अमेरिकाले इरानमा आक्रमण गरेको क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सेना फिर्ता लानुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गरेबापत इरानलाई जहाजहरूले शुल्क तिर्नुपर्ने लगायत सर्त पनि राखेको जर्नलले जनाएको छ।
त्यसबाहेक इसराइलले लेबननमा रहेको इरान संचालित हिजबुल्लाह समूहलाई प्रहार गर्न बन्द गर्नु पर्ने र आफ्नो मिसाइल कार्यक्रम पनि बिना कुनै सर्त सञ्चालन गर्नु पाउनु पर्ने भनेको छ।
इरानको सत्तामा पछिल्लो समय इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजिसी) झन् धेरै शक्तिशाली भएकाले यस्ता कडा सर्त राखेको मानिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)