शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्।
सोमबार मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूको प्रश्नमा एसइई दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्सलाई रोक्ने निर्णय गरिएको बताए।
'एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो,' उनले भने।
मन्त्रालयले आइतबार 'विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्नाका लागि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने' निर्णय सहितको सूचना सार्वजनिक गरेको थियो।
तर त्यस्ता कक्षा सञ्चालन गर्ने व्यवसायीहरूले विरोध जनाएपछि सोमबार बिहान उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ।
यस्तो थियो आइतबार निकालिएको सूचना —

मन्त्री पोखरेलले रिजल्टको अवधिसमेत छोट्याइएको उल्लेख गर्दै यस्तो अवस्थामा अनावश्यक प्रतिस्पर्धा र दबाब कम गर्न कदम चालिएको बताएका छन्।
वैशाख १ देखि नै यस्तो प्रकारका कक्षा सञ्चालनमा रोक लगाइने उनले बताएका छन्। साथै, एसइईभन्दा माथिका कोचिङ र ट्युसन सेन्टरहरूलाई पनि कानुन अनुसार नियमन गरिने उनले बताए।
सरोकारवालाहरूसँग परामर्श नगरी एकतर्फी रूपमा निर्णय गर्ने र पछि सच्याउने सरकारी प्रवृत्ति पहिलेदेखि नै देखिँदै आएको थियो। यसपालि पनि त्यही स्थिति दोहोरिएको छ।
यो पनि पढ्नुहोस्-