अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध युद्धको खर्च अरब मुलुकहरूबाट उठाउने इच्छा राखेको खुलेको छ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सोमबार पत्रकारहरूसँग कुराकानी क्रममा ट्रम्पले त्यसबारेमा चासो राखेको बताएकी छन्।
पत्रकारहरूले अरबका अन्य मुलुकहरूले पनि अमेरिकालाई इरान विरूद्धको युद्ध खर्च तिर्नुपर्ने हो? भनेर प्रश्न गरेका थिए।
'राष्ट्रपतिले यसबारेमा ती देशहरूसँग कुरा गर्न सक्नुहुन्छ। यसमा उहाँको चासो पनि छ,' प्रेस सेक्रेटरी लेभिटको उत्तर उद्धृत गर्दै कतारी मिडिया अल जजिराले लेखेको छ।
यसबारेमा राष्ट्रपति ट्रम्पले नै थप बताउन सक्ने लेभिटले बताएकी छन्।
अमेरिकाले यसअघि सन् १९९० को इराक विरुद्धको युद्धमा विभिन्न देशहरूको गठबन्धन नेतृत्व गरेको थियो। सैन्य खर्च भनेर त्यतिबेला जर्मनी, जापान र अरब मुलुकहरूले करिब ५४ अर्ब डलर अमेरिकालाई दिएका थिए।
तर अहिलेको युद्ध र त्यति बेलाको युद्ध भने फरक छ। यसपालि अमेरिकाले अन्य राष्ट्रहरुसँग छलफल नै नगरी इसराइलसँग मिलेर इरानमा आक्रमण गरेको थियो।
अमेरिकी अखबार न्यूयोर्क टाइम्सले अनुसार युद्धको पहिलो साता नै करिब साढे ११ अर्ब डलर खर्च भएको भनेर लेखेको थियो।
महिना दिन कटिसक्दा एजीएम–१५४ ग्लाइड बमजस्ता महँगा हतियार प्रयोग गरिएको थियो। यसको मूल्य प्रति बम करिब ५ लाख ७८ हजारदेखि ८ लाख ३६ हजार डलरसम्म पर्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
युद्ध खर्च बढ्दै जाँदा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँग युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको थियो।
युद्ध सुरू भएको तेस्रो साता बित्नै लाग्दा रक्षा मन्त्रालयले २०० अर्ब डलरभन्दा बढी बजेट माग गर्दै ह्वाइट हाउसलाई प्रस्ताव पठाएको थियो।
युद्ध एक महिना बढी लम्बिँदा अमेरिकाले अनुमान गरेको भन्दा सैयौं गुणा बढी खर्च भएको भनिएको छ। यद्यपि कति खर्च भयो भनेर सार्वजनिक भने भएको छैन।
ट्रम्पनिकट अमिरिकी राजनीतिक टिप्पणीकार सिन ह्यानितीले भने युद्धविराम सम्झौतामा इरानलाई नै युद्ध खर्च तिर्न वाध्य पार्ने बुँदाहरू राख्नुपर्ने बताएका छन्।
'उनीहरूले सम्पूर्ण सैन्य खर्च तेलमार्फत अमेरिकालाई फिर्ता गर्न सहमत हुनुपर्छ,' उनको भनाइ उद्धृत गरेर अल जजिराले लेखेको छ।
यद्यपि इरानले उल्टै अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने माग गरेको छ। कुटनीतिक वार्ता हुँदै गर्दा इरानमा हमला भएको बताउँदै इरानले त्यसको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्ने अडान राख्दै आएको छ। राष्ट्रपति ट्रम्पले इरानमा थप हमला गर्नका लागि ठाउँ नै बाँकी नरहेको बताउँदै आएका छन्।
इरानलाई ध्वस्त पारेको ट्रम्पले दाबी गरे पनि इसराइलले भने आजका दिनसम्म इरानमा मिसाइल र ड्रोन हमला गरिरहेको छ। जबाफमा इरानले पनि इसराइल र मध्यपूर्वका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर मिसाइल र ड्रोन हानिरहेको छ।
यसबीच अमेरिकाले मध्यपूर्वमा सैन्य तैनाथी पनि बढाएको छ।
सामान्य अवस्थामा मध्यपूर्वका सम्पूर्ण अड्डाहरुमा ४० हजार हाराहारीमा अमेरिकी सेना तैनाथ हुँदै आएकोमा पछिल्ला साताहरुमा अमेरिकाले जापान र पश्चिम किनारबाट सेनाहरूलाई मध्यपूर्वमा पठाइरहेको छ।
यसले इरान युद्धविरामका लागि सहमतिमा नआए अमेरिकाले स्थल आक्रमण गर्नुपर्ने दबाब ट्रम्पमाथि बढिरहेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।