नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट आएको कार्यसमितिले आफूहरूनिकट केहीलाई अन्याय गरेको ब्रिफिङ गरेका छन्।
खड्काकै अगुवाइमा आज काठमाडौंको धुम्बाराहीमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेला भएको छ। उक्त भेलामा बोल्दै खड्काले 'केही साथीहरूमाथि अन्याय भएको' बताएका हुन्। खड्काले कार्यवाहक सभापतिकै हैसियतमा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।
प्रतिनिधि सभा समानुपातिकतर्फ सांसदको नाम सूचीबाट निर्वाचन आयोगमा सिफारिस गर्ने क्रममा विशेष महाधिवेशनबाट आएको कार्यसमितिले केही नाम पठाउनुपर्नेमा अर्कै नाम पठाइदिएर अन्याय गरेको उनको भनाइ थियो।
‘पीछडिएको क्षेत्रतर्फ कलस्टरमा पहिलो नम्बरमा विद्या तिमिल्सिनाको नाम थियो तर आयोगमा नाम पठाउने बेला खसआर्य कलस्टरमा नाम रहेका कालिबहादुर सहकारीको नाम पठाइएको छ। दलित कलस्टरमा मानबहादुर नेपालीको नाम रहे पनि आयोगमा सिफारिस पठाउने बेला उहाँको नाम परेन, साथीहरू अन्याय भयो भनेर अदालत जानुभएको छ,’ खड्काको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने।
कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो।
समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउने बेला शेरबहादुर देउवा सभापति थिए भने सूचीबाट नाम सिफारिस गर्ने बेला सभापति गगन थापा थिए।
यो पनि: कोइराला दाजुभाइ नै देउवा समूहको छलफलमा