युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका-इरान युद्धका कारण रूसलाई फाइदा भइरहेको बताएका छन्। साथै युद्ध लम्बिए रूसका लागि धेरै राम्रो र युक्रेनका लागि धेरै नराम्रो हुने जनाएका छन्।
अमेरिकी अनलाइन एक्सियससँग कुरा गर्दै जेलेन्स्कीले तेलमा निर्भर रूसी अर्थतन्त्रले बढ्दो तेलको मूल्य र रूसमाथि लगाएको अमेरिकी प्रतिबन्धहरूमा आएको खुकुलोपनबाट ठूलो राहत पाइरहेको औंल्याएका छन्।
'म पक्का छु कि रूस लामो युद्ध चाहन्छ। उनीहरूलाई यसबाट फाइदा छ। अमेरिकाको ध्यान मध्यपूर्वमा केन्द्रित भएको छ र उसले युक्रेनलाई दिने सैन्य सहयोग घटाउन सक्छ। प्रतिबन्धहरू आंशिक रूपमा हटाइएका छन्। इरानसँगको युद्ध जारी रहँदा म रूसका लागि फाइदा मात्र देख्छु,' जेलेन्स्कीले थपे।
अर्कोतर्फ, मध्यपूर्वमा जारी युद्धका कारण रूसी मिसाइलबाट युक्रेनलाई निकै आवश्यक पर्ने 'एयर डिफेन्स इन्टरसेप्टर' र हतियारहरूको अभाव हुन सक्ने पनि जनाएका छन्।
इरानमा जारी युद्धले युक्रेनको हतियार आपूर्तिमा बाधा पुर्याउने कुराले चिन्तित हुनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा उनले भने, 'म चिन्तित मात्र छैन, मलाई पक्का छ कि हामीले यस्ता चुनौतीहरूको सामना गर्नुपर्नेछ। पक्कै पनि।'
उनले रूसले इरानलाई अमेरिकाबारे खुफिया सूचना दिइरहेको कुरा पनि सम्झाए।
युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव नै गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग दुई हप्ता अमेरिकाको मायामीमा भएको भेटका क्रममा रूसी दूत किरिल दिमित्रिएभले त्यस्तो प्रस्ताव गरेका छन्।
तर अमेरिकाले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सो प्रस्ताव अस्वीकार गरेको भनेर सो विषयबारे जानकार दुई व्यक्तिहरूको हवाला दिंदै अमेरिकी अनलाइन पोलिटिकोले लेखेको थियो।
अमेरिकाले सो प्रस्ताव अस्वीकार गरे पनि त्यसले युरोपेली देशहरूमा चिन्ता जगाएको छ।
पुटिनले अमेरिका र युरोपेली देशहरूबीच फाटो ल्याउन कोशिस गरिरहेको भनेर उनीहरू चिन्तित भएका छन्।
अमेरिका र इसराइलसँगको जारी युद्धमा रूसले सैन्य सहयोग प्रदान गरिरहेको इरानले पनि स्वीकार गरेको छ।
अमेरिकी मिडिया 'एमएस नाउ' (पहिले एमएसएनबीसी) सँगको अन्तर्वार्तामा इरानी विदेश मन्त्री अब्बास अरागचीले युद्धको समयमा रूस इरानका लागि रणनीतिक साझेदार भएको बताएका थिए।
जारी युद्धमा अमेरिकी सैन्य संरचना र पछिल्ला गतिविधिको सटिक सूचना पाएर इरानले हमला गरिरहेको जस्तो देखिएको समाचार आएका छन्। कतिले रूसले इरानलाई त्यस्तो खुफिया सूचना प्रदान गरिरहेको भनेर टिप्पणी गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि केही समयअघि सार्वजनिक रूपमा रूसले इरानलाई सहयोग गरिरहेको हुन सक्ने बताएका थिए। अमेरिकाले रूससँगको युद्धमा युक्रेनलाई सहयोग गरे जस्तै रूसी राष्ट्रपति पुटिनले पनि इरानलाई थोरै मद्दत गरिरहेको हुन सक्ने उनले अनुमान गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)