अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबका दुई-तीन साता इरानमाथि कडा आक्रमण हुने बताएका छन्।
बुधबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो युद्धमा अमेरिका आफ्ना मुख्य रणनीतिक लक्ष्यहरूको नजिक पुगेको पनि बताए।
'३२ दिनको सैन्य कारबाहीमा अमेरिकी सेनाले कम समयमै निर्णायक र शक्तिशाली विजय हासिल गरेको छ, अब इरान सुरक्षा खतरा होइन,' ट्रम्पले आफ्नो सम्बोधनमा भने, 'म आज भन्न सक्छु– हामी चाँडै, धेरै चाँडै, अमेरिकाका सबै सैन्य लक्ष्य पूरा गर्ने बाटोमा छौं।'
उनले अगाडि थपे, 'अबको दुई–तीन साता हामी उनीहरूमाथि निकै कडा प्रहार गर्नेछौं। हामी उनीहरूलाई ढुंगे युगसम्म पुर्याउनेछौं।'
फेब्रुअरी २८ देखि अमेरिका र इसराइलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा हजारौं मानिस मारिएका छन्। त्यसपछि इरानले इसराइल, अमेरिकी सैन्य अड्डा र खाडी देशहरूमा आक्रमण गरेको छ।
यो द्वन्द्वका कारण इरानले तेल ओसारपसार हुने महत्त्वपूर्ण जलमार्ग 'स्ट्रे अफ होर्मुज' बन्द गरेको छ। यसले विश्व बजारमा असर पार्नुका साथै ट्रम्पको लोकप्रियतामा गिरावट आएको छ। पछिल्लो समय अमेरिकाका विभिन्न राज्यमा ट्रम्पविरोधी प्रदर्शनहरू भइरहेका छन्।
ट्रम्पको सम्बोधनपछि सेयर बजार गिरावट आएको छ भने तेलको मूल्य बढेको छ। लगानीकर्ताहरूले द्वन्द्व चाँडै अन्त्य हुने स्पष्ट योजना नदेखेको भन्दै निराशा व्यक्त गरेका छन्।
ट्रम्पले भने अमेरिका स्ट्रेट अफ होर्मुजमा निर्भर नभएको बताएका छन्। त्यहाँबाट तेल लिने आफ्ना सहयोगी देशहरूलाई उक्त मार्ग खोल्नका लागि पहल गर्न आग्रह पनि गरेका छन्।
'धेरै अमेरिकीहरू पेट्रोलको मूल्य बढेकोमा चिन्तित छन्। यो अस्थायी वृद्धि इरानी शासनले छिमेकी देशका तेल ट्यांकरमाथि गरेको आक्रमणका कारण भएको हो, जसको यो द्वन्द्वसँग सम्बन्ध छैन,' उनले भने।
ट्रम्पले टेलिभिजन सम्बोधनमा यो पनि भने, 'उनीहरू परमाणु हतियारको निकै नजिक पुगेका थिए, तर यसको प्रमाण दिएनन्। हाम्रो सेनाले पछिल्ला चार सातामा निर्णायक विजय हासिल गरेको छ। हामी क्रमशः इरानी शासनको अमेरिका र बाहिरी क्षेत्रमा प्रभाव जमाउने क्षमता कमजोर पारिरहेका छौं।'
अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यो युद्धले 'विश्वव्यापी रूपमा असमान असर' पार्ने चेतावनी दिएका छन्। प्रभावित देशहरूलाई सहयोग गर्न समन्वय गर्ने पनि बताएका छन्।