पोखराको फेवातालमा क्रुजसहित पानीमा खेल्न सकिने विभिन्न खेलका गतिविधि चलाउन हालका गृहमन्त्री सुधन गुरूङले प्रस्ताव पेस गरेको भेटिएको छ।
गुरूङले पोखराकै अतिथि रिसोर्टसँग मिलेर 'वाटर स्पोर्ट्स' सञ्चालन गर्न प्रस्ताव पेस गरेको पोखरा महानगरका एक अधिकृतले बताए।
उक्त प्रस्तावलाई गुरूङ सहितको टोलीले 'पावर प्वाइन्ट प्रिजेन्टेसन' गरेर फेवाताल आफूहरूलाई दिए 'वाटर स्पोर्ट्स सञ्चालन गर्ने' बताएको महानगरका ती अधिकृतले जानकारी दिए।
पोखरा महानगरले २०७५ सालमा फेवाताल र बेगनास तालमा सार्वजनिक-निजी साझेदारीमा 'वाटर स्पोर्टस्' सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको थियो।
त्यति बेला छनौट समितिका संयोजक महानगरका प्रमुख कार्यकारी अधिकृत थिए भने महानगरले प्रस्ताव अध्ययन गर्न छुट्टै उपसमिति गठन गरेको थियो।
उपसमिति संयोजक रहेका महानगरका आर्थिक महाशाखा प्रमुख जयराम पौडेलका अनुसार त्यति बेला अतिथि रिसोर्टले पेस गरेको प्रस्ताव छनौट पनि भएको थियो।
'फेवातालमा वाटर स्पोर्टस् सञ्चालन गर्न ५ वटा कम्पनीले प्रस्ताव पठाएका थिए, जसमा अतिथि रिसोर्ट छनौट भएको थियो,' पौडेलले सेतोपाटीसँग भने।
अतिथि रिसोर्टका सञ्चालक मोतीप्रसाद पौडेलले फेवातालमा 'वाटर स्पोर्टस्' चलाउन प्रस्ताव पेस गर्दा सुधन गुरूङसँग सहकार्य गरेको बताए।
प्रस्ताव लेख्ने र फेवातालमा के-के गतिविधि चलाउने भनेर सुधनकै टिमले तयारी गरेको जानकारी दिँदै पौडेलले त्यही प्रस्तावमा अतिथि रिसोर्ट कम्पनी जोडिएको बताए।
'आइडिया र इन्जिनियरिङ उहाँहरू (सुधन गुरूङ टिम) को थियो, कम्पनीको नाम हाम्रो भयो,' पौडेलले सेतोपाटीसँग भने, 'सुधन गुरूङ र हामी महानगरपालिका गएर प्रिजेन्टेसन पनि दिएका थियौं।'
पौडेलका अनुसार फेवातालमा क्रुज चलाउने लगायत करिब ७५ वटा विभिन्न खेलका गतिविधि त्यसमा समावेश थिए। रातको समय पनि फेवातालको पानीमा विभिन्न खेल खेल्ने योजना प्रस्तावमा पेस गरिएको थियो।
रिसोर्ट सञ्चालक पौडेलका अनुसार पोखरामा केही नयाँ गतिविधि गर्न आफूहरूले चाहेका बेला सुधनसँग भेट भएर उक्त योजनामा काम गर्न खोजेको बताए।
त्यही बेला फेवाताल पारिपट्टी जग्गा लिएर सुधनले केही नयाँ काम गर्न खोजेको देखेपछि चिनजान भएको र कुराकानी क्रममा उक्त योजना बनेको उनले जानकारी दिए।
'उहाँ (सुधन गुरूङ) ले फेवातालपारि केही गर्ने भनेर कन्सेप्ट तयार गर्नुभएको रहेछ,' उनले भने, 'छोटो भेटघाटमै पार्टनरसिपमा पोखरा महानगरमा प्रस्ताव हाल्न गएका थियौं।'
सुधनले त्यति बेला नै वाटर स्पोर्टस् सञ्चालन गर्न भनेर ताल किनारमा जग्गा किनेका थिए। त्यही जग्गा अहिले फेवातालको मापदण्डभित्र पर्ने भनेर पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी गराएका थिए।
फेवातालको अतिक्रमण हटाउने सन्दर्भमा गत बिहीबार सिंहदरबारमा भएको भेटघाटमा गृहमन्त्री सुधनले आफ्नो जग्गा गए पनि फेवातालको मापदण्डभित्र पर्ने जग्गा अदालतको अदेश अनुसार खाली गर्न भनेको मेयर आचार्यले बताए।
सार्वजनिक-निजी साझेदारी (पिपिपी) मोडलमा फेवातालमा वाटर स्पोर्टस् सञ्चालन गर्न छनौट भइसकेको अतिथि रिसोर्टसँग महानगरले सम्झौता गर्न भने पाएन। छनौट भएर सम्झौता भएको भए रिसोर्टसँगै साझेदार सुधनले फेवातालमा विभिन्न प्रकारका क्रुजदेखि पानीमा खेल्न सकिने अनेक प्रकारका खेल खेलाइरहेका हुन्थे।
महानगरका वित्त महाशाखा प्रमुख जयराम पौडेलका अनुसार कम्पनी छनौट भएपछि पनि सम्झौता हुन नसक्नुका कारण डुंगा व्यवसायी हुन्।
'डुंगा व्यवसायीले फेवातालमा वाटर स्पोर्टस् सञ्चालन गर्न हुँदैन भनेर निरन्तर विरोध गरे,' उनले भने, 'त्यसपछि सम्झौता गर्ने चरणमा पुगिसकेपछि प्रक्रिया रोकियो। तत्कालीन जनप्रतिनिधिहरू सम्झौता गर्नबाट पछि हट्नुभयो।'