नेकपा एमालेको विरोध प्रदर्शनमा सहभागी भएपछि डिजिटल यौनहिंसाको सिकार भएकी अमिसा पराजुलीको उजुरीमा कारबाही बढिरहेका बेला एमालेकै महिला सांसदहरू यस्तै घटनाबारे चासो राख्दै साइबर ब्युरो पुगेका छन्।
महिला तथा किशोरीहरूमाथि यस प्रकारका डिजिटल हिंसा नरोकिएको भन्दै पद्मा अर्याल, रामकुमारी झाक्री लगायत एमाले सांसदहरू ध्यानाकर्षण गराउन सोमबार साइबर ब्युरो पुगेका हुन्।
'साइबर बुलिङ अत्यधिक भयो। पछिल्ला १० वर्षमा साइबर बुलिङको सिकार भएको पात्र म पनि हुँ। स्वतन्त्र अनुसन्धानहरूले त्यो देखाएको छ। अन्याय सहने कुरा पनि अर्को प्रकारले पीडित हुने कुरा रहेछ भनेर आएको हुँ,' एमाले सांसद झाक्रीले भनिन्।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै महिला, केटी र केटाहरूमाथि पनि साइबर बुलिङका घटना बढेको उनले बताइन्।
सामाजिक सञ्जालको च्याट र अन्य भर्चुअल माध्यमबाट हिंसा बढेको उल्लेख गर्दै उनले भनिन्, 'अहिले बलात्कार र अपहरण गर्ने मात्र होइन, हत्या गर्ने, एसिड फ्याँक्ने, घरमा आगो लगाउने जस्ता घटना र घृणाको बढोत्तरी छ।'
साइबर ब्युरोको कार्यक्षेत्रमा पर्ने यस किसिमको अपराधमा अनुसन्धान र दण्ड-सजायको अवस्था के-कस्तो छ भनेर बुझ्न र त्यसलाई नीतिगत रूपमा कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सल्लाह गर्न आएको झाक्रीले बताइन्।
'नीतिगत हिसाबले के गर्नुपर्छ हामी छौं,' उनले भनिन्, 'यस्ता घटनामा कानुनको पर्याप्तता छ कि छैन भनेर बुझ्नु पनि हाम्रो उद्देश्य हो।'
ब्युरोका एसपी दिलिपकुमार गिरीले पनि एमाले सांसदहरू बालबालिका, महिला तथा ज्येष्ठ नागरिकप्रति भएको डिटिजल साइबर अपराधबारे बुझ्न आएको जानकारी दिए।
'उहाँहरूले पछिल्लो समय बढ्दै गरेको डिटिजल यौनहिंसाका कारण कतिपयको सम्बन्ध विच्छेद भयो, कतिपयको घरबार बिग्रियो, यस्ता घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गर्नुभयो,' गिरीले भने।
पछिल्ला समय आएका डिजिटल यौनहिंसाका निवेदन के, कस्ता र कति छन् भन्नेमा सांसदहरूका तर्फबाट कसरी भूमिका खेल्न सकिन्छ भनेर बुझेको पनि गिरीले बताए।
'हामीले प्राविधिक रूपमा निवेदन आएपछि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गरायौं। अन्य समसामयिक विषयमा पनि कुराकानी भयो,' उनले भने।