संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दैछ।
सरकारले चैत १६ गते प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा समिति गठन गरेको थियो।
बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्दैछ।
कार्यदलमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट संविधान सभाका सदस्य भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्व कानुन मन्त्री देवप्रसाद गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्य छन्।
नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पठाउने प्रतिनिधिबारे आन्तरिक छलफल भइरहेको छ।
उक्त दलहरूले कार्यदल सदस्यको नाम सम्भवतः आजै टुंगो लगाउनेछन्। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा रहेका छन्।
कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी छन्।