नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले विशेष महाधिवेशन पक्षधर युवाहरूलाई पार्टीले समीक्षा गर्ने भन्दै हस्ताक्षर बन्द गर्न आग्रह गरे।
कार्यवाहक अध्यक्ष बादलले बुद्धिजीवी परिषद् अध्यक्ष गजेन्द्र थपलिया, राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाही, अनेरास्ववियुका उपमहासचिव कमल जोशीलाई बोलाएर हस्ताक्षर रोक्न भनेका हुन्। छलफलमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल पनि थिए।
छलफलका क्रममा बादलले सातवटा प्रसंग उठाएका थिए।
पहिलो फागुन २१ गतेको निर्वाचनमा एमालेले अनपेक्षित परिणाम ल्याएको उनले बताएका थिए। ‘यस निर्वाचनमा हामी नराम्रोसँग पराजित भयौं,’ उनले भनेका थिए।
दोस्रो उनले पार्टीका तर्फबाट केही कमजोरी भएको भन्दै त्यसको समीक्षा हुने बताएका थिए।
‘जसले कमजोरी गर्छ, उसले हार भोग्नुपर्छ, त्यसैले यस पटक हाम्रो पक्षबाट केही गम्भीर कमजोरीहरू भए,’ उनको आसय थियो।
तर कस्तो कमजोरी, नेतृत्वबाट कमजोरी हो कि, पार्टीका तर्फबाट गल्ती भए? उनले त्यसबारे खासै नखुलाएको नेताहरूले बताएका थिए।
तेस्रो एमाले गलत र राष्ट्रिय स्वतन्त्र पार्टी सही सावित भएकाले रास्वपाले ठूलो जित निकालेको उनको निष्कर्ष थियो।
चौथो बादलले एमाले यतिबेला निकै चुनौतीपूर्ण अवस्थामा रहेको, कार्यकर्ता पंक्तिमा विभाजन, विघटनको जस्तो मनोदशा आफूले पाएको बताएका थिए।
पाँचौं विशेष महाधिवेशनको माग भइरहँदा पार्टी नेतृत्व कि त आत्मसमर्पण कि त युवाहरूको विद्रोहलाई दबाउनुपर्ने अवस्थामा रहेको बताएका थिए।
‘विशेष महाधिवेशनको माग भइरहँदा हामीले कि त आत्मसमर्पण गर्नुपर्ने परिस्थिति छ, कि त तपाईंहरूको विद्रोहलाई दबाउनुपर्ने अवस्था छ,’ उनले भनेका थिए।
छैठौं, उनले निर्वाचनको यस परिणामबारे पार्टीले गम्भीर आत्मसमीक्षा गर्ने बताएका थिए।
‘निर्वाचनको यस परिणामबारे पार्टीले गम्भीर आत्मसमीक्षा गर्नेछ भन्ने कुरामा म तपाईंहरूलाई पूर्ण विश्वास दिलाउँछु,’ उनले भनेका थिए।
उनले विशेष महाधिवेशनको माग सहितको हस्ताक्षरलाई चरम अराजकतावादको संज्ञा दिएका थिए।
‘यो विद्रोह भनेको चरम अराजकतावाद हो, अहिले यस्तो परिस्थिति सिर्जना गर्न नलाग्नुहोस्, अन्यथा पार्टीले यो विद्रोहलाई दबाउन पनि सक्छ,’ उनले भनेका थिए।