बागमती प्रदेश सभामा सभामुख पदको चयन प्रक्रिया सुरू भएको छ।
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जेनजी आन्दोलनलगत्तै गत असोज १ गते सभामुख पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको थियो। सो रिक्त सभामुख पदका लागि सत्तारूढ र प्रतिपक्ष दलहरूले दाबी गरेका छन्।
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको संयुक्त बैठकमा सभामुखमा आ–आफ्नो दलले पाउनुपर्ने दाबी गरेका हुन्।
प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने दाबी गर्नु स्वाभाविक भएको कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका सचेतक पुकार महर्जनले बताए।
‘नेकपा एमालेले पनि सभामुख हामीलाई चाहियो भनिरहेको छ, हामीले सत्तारूढ दलको बीचमा सहमति कायम गरेर अघि बढ्न चाहिरहेका छौं,’ सचेतक महर्जनले भने, ‘ठूलो दलको नाताले कांग्रेसलाई सभामुख दिनुपर्छ भन्ने हाम्रो अडान छ। तर सत्तारूढ दलबीच सहमति गरेर अघि बढ्ने कुरामा हामी एक ढिक्का छौं,’ उनले भने।
यता अर्काे सत्तारूढ दल नेकपा एमालेले कांग्रेसको मुख्यमन्त्री भएकाले सभामुख आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुखमा आफ्नो दलको दाबी रहेको बताउँदै त्यसमा दुई दलबीच कुनै विवाद नरहेको बताए।
सरकार र सदनबीच सन्तुलन कायम राख्न प्रमुख प्रतिपक्ष दलको हैसियतले आफ्नो पार्टीले सभामुख पाउनुपर्ने नेपाली कम्युनिष्ट पार्टीका नेता शालिकराम जम्कट्टेलले बताए।
सभामुखमा आफ्नो दलको दाबी रहेको बताउँदै नेता जम्कट्टेलले सत्तापक्षबीच सहमति नभए आफ्नो दलले सभामुखमा उम्मेदवारी दिने बताए।
‘हामीले सत्तारूढ दललाई तपाईंहरू सरकार चलाउनुस्, सदनको नेतृत्व हामीलाई दिनुस् भनिरहेका छौं,’ नेता जम्कट्टेलले भने, ‘शक्ति सन्तुलनका लागि प्रतिपक्षको दाबी स्वाभाविक हो, यसले एउटा राम्रो सन्देश जान्छ। सत्तारूढ दलबीच कुरा मिल्यो भन्ने ठिकै छ, नत्र हामीले उम्मेदवारी दिन्छौँ।’
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सभामुखमा दाबी गरेको छ।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफ्ना पार्टीबाट सभामुख भएका पाठकले राजीनामा दिएकाले पुनः सभामुख आफ्नो दलले पाउनुपर्ने बताए।
हिजोदेखि सुरू भएको बागमती प्रदेश सभाको सत्रौँ अधिवेशनमा सभामुख चयन प्रक्रिया सुरू भएको छ। सभामुख चयन प्रक्रिया सुरू भएसँगै १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
एक सय चार सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३५, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीको २६, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन्। रासस