सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पुरूषोत्तम यादवको अभिव्यक्तिप्रति विपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधि सभा बैठकमा रास्वपाका यादवले एमाले अध्यक्ष केपी शर्मा ओली र संसदीय दल नेता रामबहादुर थापा बादललाई कटाक्ष गर्दै अभिव्यक्ति दिएका थिए।
'जुन भूतले कमरेड ओलीलाई छलेको थियो। त्यही भूतले कमरेड बादललाई पनि छलेको देखिन्छ। त्यसैले म सरकारसँग जोडदार माग गर्न चाहन्छु। एउटा भूत झार्ने झाक्रीको व्यवस्था गरियोस्। किनकि आज जुन अपराधी कारागारको ढोकाभित्र हुन पर्ने थियो त्यो हस्पिटलको बेडमा छ। त्यही बेडबाट कुबिचार सम्मानीत सदनसमक्ष पठाउँदैछ,' यादवले भनेका थिए।
उनको भनाइप्रति एमालेले तत्कालै विरोध भने जनाएन। संसद कार्यसूचीमा प्रवेश गर्नुअघि मात्रै उसले नियमापत्ति जनाएको थियो।
एमाले सांसद गुरू बरालले सत्तापक्ष सांसद यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे।
'अपराधी करार गर्ने थलो संसद होइन। न्यायलयले गर्छ। प्रतिनिधि सभा अन्धविश्वासमा विश्वास गर्दैन। यसखालको अत्यन्त अपमानजनक शब्द प्रयोग गर्ने थलो होइन। हाम्रो दलको नेता रामबहादुर थापा बादलप्रति त्यही अपमानजनक शब्द प्रयोग गरेर उहाँलाई समेत अपमानित गर्नुभएको छ। यसखालको शब्दहरू प्रतिनिधि सभाको रेकर्डबाट अबिलम्ब हटाइयोस्,' उनले भने।
एमालेको नियमापत्तिपछि सभामुख डोलप्रसाद अर्यालले सो विषयमा ध्यानाकर्षण भएको बताएका छन्।