नेपाल बार एसोसिएसनले प्रशासकीय अदालतको सुनुवाइ स्थगित गर्न अनुरोध गरेको छ।
सिंहदरबारभित्र कानुन व्यवसायीहरूको प्रवेशमा गेट पास लिनुपर्ने व्यवस्था गरेपछि बारले प्रशासकीय अदालतका अध्यक्षलाई पत्र लेख्दै सुनुवाइ स्थगित गर्न अनुरोध गरेको हो।
‘पक्षको प्रतिनिधित्वका लागि प्रवेशमा पास लिनुपर्ने जस्ता झन्झट थपी जटिलता पैदा गरिएको र पक्षको प्रतिनिधित्वमा कठिनाइ उत्पन्न भएकाले पूर्ववतको अवस्था सिर्जना नभएम्म प्रशासकीय अदालतको पेसी सूची प्रकाशन लगायतको जरूरी सुनुवाइ बाहेकको अन्य सुनुवाइ स्थगित गरिदिनुहुन अनुरोध गर्दछौं,’ महासचिव केदारप्रसाद कोइरालाले पठाएको पत्रमा भनिएको छ।
सरकारले आइतबारदेखि कानुन व्यवसायीहरूलाई सिंहदरबार प्रवेशका लागि गेट पास लिनुपर्ने व्यवस्था गरेको हो। त्यसअघि कानुन व्यवसायीको परिचय पत्रको आधारमा प्रवेश गर्न दिइन्थ्यो।
तर अहिले अवरोध सिर्जना गरेपछि बारले प्रधानमन्त्री बालेन शाहको समेत ध्यानाकर्षण गराई सहजीकरण गर्न अनुरोध गरेको छ।
