सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सरकारले जनादेशअनुसार काम गरिरहेको बताएका छन्।
बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ पूर्जी जारी गरिएकोबारे जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन्।
सांसद सुनारले जेन–जी आन्दोलन दबाउने, भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने वाचालाई जनताले अनुमोदन गरेकाले सरकारले सोही अनुसार काम गरिरहेको जिकिर गरे।
उनले सरकार जनताको बीचमा गरिएको प्रतिबद्धताअनुसार काम गर्न मजबुत रहेको समेत बताए।
सांसद सुनारले भने, ‘सरकार कच्चा छैन, बच्चा छैन। सचेत छ। सबै हिसाबले सरकार मजबुत छ। बुझेर आएको सरकार छ। त्यसैले सरकारले गरेको काम वा सदनले गरेको काम अहिलेको जनप्रतिनिधिहरूले गरेको काम जनताको बीचमा हामीले प्रतिबद्धता गरेर आएको थियौँ। जनताको बीचमा हामी जाँदैगर्दा यी यी कामहरू हामी गर्नेछौँ। जेन–जी आन्दोलन दबाउनेहरूलाई छानबिन गर्छौं, अपराध गर्नेहरूलाई छानबिन गर्छौं। भ्रष्टाचार गर्नेहरूलाई छानबिन गर्छौं भनेर जनतामा हामी वाचा गरेका गएका थियौँ। जनताले त्यसलाई स्वीकार गरेर पठाएको कुरा हामीले कार्यान्वयन गरेका हौँ।’
सांसद सुनारले अदालतमा विचाराधीन कुनै पनि मुद्दामा सदन र सरकारले बोल्न नमिल्ने पनि बताए।–न्युज एजेन्सी नेपाल