नेपाली कम्युनिस्ट पार्टीका सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै जान लागेको आरोप लगाएकी छन्।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले सरकारले निजी सञ्चार माध्यमहरूमाथि सरकारी सूचना तथा विज्ञापन रोक लगाउने निरंकुश निर्णय गरेको बताएकी हुन्।
सरकारले छोटो समयमा नै धेरै विवादित निर्णयहरू गर्दै गएको उनको भनाइ छ।
उनले निजी सञ्चार माध्यमहरूलाई विज्ञापनमा रोक लगाउने, विद्यार्थी संगठन खारेज गर्ने लगायतका अलोकतान्त्रिक निर्णय गरेकोले फिर्ता लिन माग गरिन्।
उनले ठूलो जनविश्वास प्राप्त गरेको सरकारको बारेमा बोल्न मन नभए पनि एकपछि अर्को विवादित काम गरे पनि नबोली बस्न नसकेको उल्लेख गरिन्।
उनले भने, ‘भर्खरै मन्त्रिपरिषद्को सचिवालयले सचिवस्तरीयको निर्णय परिपत्र गरेको छ। त्यो परिपत्र आउँदा नआउँदै अत्यन्तै विवादको अवस्थामा आइपुगेको छ। उक्त परिपत्रमा सरकारका सूचना, विज्ञापनहरू सरकारका सञ्चार माध्यमहरूले मात्रै गर्न पाउने र निजी सञ्चार माध्यमहरूले गर्न नपाउने भन्ने किसिमको जुन निर्णय गर्यो। त्यो अत्यन्तै गलत छ, त्यो अलोकतान्त्रिक छ। किन आज सरकार आफ्ना निर्णयहरू विवादित गर्दै गइरहेको छ, म सोध्न चाहन्छु।’
उनले अगाडि भनिन्, ‘यो निर्णयले सबै निजी संचार माध्यमहरूलाई धरासायी बनाउने र प्रेस स्वतन्त्रताको हकलाई विस्तारै विस्तारै खोस्ने खालको अलोकतान्त्रिक, निरकुंश निर्णय सरकारले गरेको छ। त्यो निर्णय तुरून्त सच्याउन म माग गर्न चाहन्छु। यो अधिकार र व्यवस्था स्थापित गर्नको लागि आन्दोलनको नेतृत्व गरेर अग्रपंक्तिमा थिए। हजारौंले रगत बगाएका छन्, टाउको फुटाएका छन्। सरकार कहिले विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध गराउने निर्णय गर्छ। कहिले प्रेस संगठनहरूलाई रोक्न खोज्ने निर्णय गर्छ। आज विद्यार्थीको संगठित हुने, बोल्ने अधिकार खोसिँदैछ। सरकारले सोच्नुपर्यो, हामीलाई मन छैन, सरकारको बारेमा बोल्न पटक्कै मन छैन, किनभने यति धेरै पपुलर सरकार, यति धेरै जनविश्वास प्राप्त गरेको सरकार। तर आज हामीले चुपचाप बस्न पनि त सकिएन नि।’
उनले पछिल्लो समय महिला तथा किशोरीमाथि पनि साइबर हमला हुने गरेको बताइन्। महिलामाथि हुने साइबर हिंसालाई रोक्न कडा कदम चाल्न उनले सरकारसँग माग पनि गरिन्। –न्युज एजेन्सी नेपाल