नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद सिर्जना भएको छ।
बुधबार कार्यवाहक अध्यक्ष बादलले पोखरामा आयोजित कास्की जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा पार्टीभित्रका दक्षिणपन्थी उजागर भएको बताएका थिए। त्यस्तै उनले पार्टीका दुस्मनविरूद्ध वडावडाबाट घेरा हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए।
यी अभिव्यक्ति पार्टीको स्थापित मूल्य, मान्यता र विचारधारा प्रतिकूल रहेको भन्दै केन्द्रीय सदस्य खिमलाल भट्टराईले आपत्ति जनाएका हुन्।
‘हाम्रो पार्टी नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभामा दलका नेता कमरेड रामबहादुर थापा बादलले हिजो चैत्र २५ गते, पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेश गर्नुभयो, त्यो पार्टी नीति र एमाले स्कुलिङविरूद्ध छ,’ उनले भने।
कब्जा, आक्रमण, दुस्मन आदि शब्दावलीहरू एमालेका नभएको बताए। उनले यी भाषा, प्रस्तुति र अभिव्यक्ति शैली जनताको बहुदलीय जनवादको मार्गदर्शन सुहाउँदो नभएको बताएका छन्।
‘हामी कब्जा होइन, जनताको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठ हुन्छौं। कब्जा हाम्रो नीति होइन। हामीले आक्रमण होइन शान्तिपूर्ण संघर्षबाट विजयलाई सुनिश्चित गर्छौं। हामी प्रतिस्पर्धा गर्छौं दुस्मनी गर्दैनौं। एमालेको संघर्षको नीति यो हो,’ उनले भनेका छन्।
आफूले कार्यवाहक अध्यक्षलाई सिकाउन नखोजेको तर पुरानो धङधङी (द्वन्द्वकालकोजस्तो) एमालेको नीति हुन सक्दैन मात्रै भन्न खोजेको बताएका छन्।
बादलले आज नेकपा (एमाले) कुन अवस्थामा छ भन्ने आकलन गर्न नसकेको र कसरी कार्यकर्ता र शुभेच्छुकको पंक्तिलाई परिचालन गर्ने भन्ने कुराको तरिका पनि ठम्याउन नसकेको आरोप लगाएका छन्।
‘उहाँमा विलकुल युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृत्ति देखियो। व्यक्तिगत रूपमा उहाँलाई मैले सैद्धान्तिक चेत भएको, कम बोल्ने, भद्र नेताका रूपमा लिन्थेँ। उहाँको यो भाषण देखेपछि पुरानो हो कि वा एआईले पो गडबड गरेछ कि भन्ने लागेर अलि बुझ्न खोजेँ। तर अहिलेकै र वास्तविक रहेछ। वास्तवमा मलाई दुःख लाग्यो,’ उनले टिप्पणी गर्का छन्।
उनले अगाडि भनेका छन्, ‘उहाँले न पार्टीको अवस्था न दृष्टिकोण, दुवै बुझेको देखिएन। फस्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो। कार्यवाहक र दलको नेताको जिम्मेवारी दिनु हुने आदरणीय पार्टी अध्यक्ष कमरेड र सचिवालयका कमरेडहरूले बेलैमा सोच्नुहोस्,’ उनको आग्रह छ।