लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले एक वर्षको अवधिमा सदनभित्र र बाहिर निर्वाह गरेको भूमिका सहितको प्रतिवेदन सार्वजनिक गरेकी छिन्।
यसअघि पनि उनले पहिलो र दोस्रो वर्षको रिपोर्ट कार्ड सार्वजनिक गरेकी थिइन्। २०८१ माघ १ देखि २०८२ पुस ३० सम्मको ३६६ दिनमा उपस्थिति, उठाएका विषय र कार्यान्वयनका लागि गरिएको पहलहरू विवरणमा समावेश छन्।
प्रतिवेदन अनुसार सदन चलेको १८ बैठकमा कुल ४१ घण्टा ५१ मिनेट समय व्यतित भएकोमा गिरी ८३ प्रतिशत समय उपस्थित रहिन्। उनले ५ पटक बोलेर ४५ मिनेट समय सदनमा आफ्ना धारणा राखेकी छन्।
सदनमा उनले उठाएका विषयमध्ये ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ भने प्रदेश आयोजना बैंक, संस्थागत स्मृति हस्तान्तरण र प्रदेश विकास परिषद गठनका लागि कार्यविधि निर्माण भएको उल्लेख छ।
त्यस्तै, जेनजी पुस्तालाई रोजगारीमा प्राथमिकता दिने र सुशासन ऐन कार्यान्वयनका लागि बजेट विनियोजन भई कार्यान्वयनको चरणमा पुगेको तथा कारागार तथा बाल सुधारगृह सुधार अन्तर्गत पुस्तकालय स्थापना, ध्यान तथा योग कार्यक्रम सञ्चालन गरिएको रिपोर्ट कार्डमा उल्लेख छ।
गिरीले सदनमा सुशासन तथा पारदर्शितालाई मुख्य एजेण्डा बनाउँदै नागरिकता ऐन संशोधनको विषय उठाएको उल्लेख गरेकी छन्। उनले विवाहित महिलाले माइतीको सिफारिसमा पनि नागरिकता लिन पाउने व्यवस्था हुनुपर्ने माग गरेकी छन्।
उनले संघीय संसदका सदस्यहरूसँग समन्वय गरेर राष्ट्रिय सभामा संशोधन प्रस्ताव अघि बढाउन पहल गरेको रिपोर्ट कार्डमा उल्लेख गरेकी छन्।
खेलाडीको स्वास्थ्य बीमा, पछाडि परेका वर्गको सम्मान तथा समावेशिता, द्वन्द प्रभावित एकल महिलालाई भत्ता व्यवस्था जस्ता विषयहरूमा पनि आफूले आवाज उठाएको उनले उल्लेख गरेकी छन्।
कर्मचारी सरुवा र बढुवालाई पारदर्शी बनाउनुपर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण र आन्तरिक राजस्व कार्यालयको कार्यप्रणाली सुधार गर्नुपर्ने विषयलाई आफूले प्राथमिकताका साथ उठान गरेको उनको भनाइ छ।
कानुन तथा सुरक्षा क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण, लाइसेन्स प्रणाली सुधार र कारागार सुधारका विषयमा उनले निरन्तर ध्यानाकर्षण गराएकी छन्।
सामाजिक अभियान अन्तर्गत ‘एक व्यक्ति १०० रुख’ अभियान सञ्चालन गर्नुपर्ने, आमाबुवाको सम्मान गर्ने परिवारलाई ’श्रवण कुमार सम्मान पुरुस्कार प्रदान गर्नुपर्ने र देशका लागि योगदान गरेका तर ओझेलमा परेका व्यक्तिहरुको ( दलित, महिला र पछाडि परेका बर्ग) नाममा पूर्वाधार नामकरण गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेकी छन्।
उनले लुम्बिनी प्रदेश सभामानै यो रिपोर्ट कार्ड सभा समक्ष पेश गरि सभामुखलाई सबै प्रदेश सदस्यहरुको भिजन हलमा राख्दिन आग्रह गरेकी छिन्।
प्रदेश सभामुख तुलाराम घर्ती मगरले यो अत्यन्त यो अभ्यास नौलो र जबाफदेही अभ्यास रहेको बताए। यस्तो खालको अभ्यास गर्ने उनी ७ वटै प्रदेश सांसद मध्ये पहिलो सांसद हुन्।