अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशब्यापी जनपरिचालन गर्ने निर्णय गरेर जिल्ला–जिल्लामा भेला आयोजनामा जुटेको नेकपा एमालेले ओलीकै गृह जिल्ला झापामा भने कार्यक्रम नै स्थगित गरेको छ।
चैत २५ का लागि झापामा जिल्ला भेला गर्ने कार्यक्रम तय भएको थियो।
त्यसका लागि पार्टी केन्द्रले उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य देवेन्द्र दाहाललाई प्रतिनिधि तोकेको थियो। पार्टी सचिवालय बैठकमा उपमहासचिव भट्टराई आफैले झापा जाने इच्छा गरेपछि उनलाई ओलीको गृहजिल्ला खटाउने निर्णय भएको थियो।
एमाले झापाका एक नेताले दिएको जानकारी अनुसार जिल्लाको कार्यक्रम तय भएपछि अध्यक्ष प्रेम गिरी भने उपाध्यक्ष शिव ढुंगेललाई कार्यवाहक दिएर काठमाडौं लागेका थिए।
‘अध्यक्षले उपाध्यक्षलाई कार्यवाहक दिएर काठमाडौं जानु भएछ,’ ती नेताले भने, ‘अनि कार्यक्रम के गर्नेभन्दा म नेताहरूसँग सल्लाह गरेर भन्छु भन्नुभएछ। त्यसपछि चैत २४ मा सचिव तुलसी कार्कीले सूचना जारी गरेर २५ को कार्यक्रम स्थगित गरेको जानकारी गराउनु भएको छ।’
एमाले झापाका पदाधिकारी तथा जिल्ला कमिटीका नेताहरू कार्यक्रम स्थगनको कारणबारे केही थाहा नभएको बताउँछन्। तर जिल्ला कमिटीका एक नेताका अनुसार पछिल्लो समय अध्यक्ष ओलीप्रती आलोचनात्मक रुपमा प्रस्तुत हुँदै आएका उपमहासचिव योगेश नै झापा खटिने भएपछि ओली पक्षका नेताहरूले कार्यक्रम नै रोकेका हुन्।
‘भित्री अरू कारण केही भए थाहा भएन, अहिलेको कार्यक्रम रोकिनुको मुख्य कारण भने योगेश नै भएको देखियो,’ ती नेताले भने, ‘नत्र कार्यक्रमकै बेला अध्यक्ष काठमाडौ जानु, कार्यभार दिइएका उपाध्यक्षलाई कार्यक्रम स्थगित गर्न भन्नुको अन्य कारण देखिन्न।’
झापामा कार्यक्रम स्थगित भए पनि कार्यक्रमका प्रमुख अतिथि भट्टराईलाई भने चैत २४ गते दिउँसोसम्म पनि त्यसबारे कसैले जानकारी दिएको थिएन। योगेशले कोशी प्रदेश कमिटीका नेताहरूलाई कार्यक्रमबारे सोधपुछ गर्दा उनलाई स्थगित भएको जानकारी गराइएको थियो। प्रदेशका एक नेताले दिएको जानकारी अनुसार प्रदेशको निर्देशनपछि मात्रै झापा उपाध्यक्ष ढुंगेलले योगेशलाई कार्यक्रम स्थगित भएको जानकारी गराएका थिए।
प्रधानमन्त्री बालेन्द्र शाहले शपथ लिएकै भोलिपल्ट भदौ २३ मा भएको जेनजी आन्दोलन दमन अभियोगमा ओली पक्राउ परेपछि एमाले सडकमा ओर्लिएको थियो। योगेश भट्टराईसहितका सस्थापन इतर पक्षका नेताहरूको प्रदर्शनमा उपस्थिति थिएन।
चुनावका बेला पनि आफूलाई जिम्मेवारीविहीन बनाइएको भन्दै योगेशले असन्तुष्टि प्रकट गरेका थिए। चुनावमा झापा ५ मा प्रतिकूल अवस्था देखेपछि अध्यक्ष ओलीले योगेशलाई आफैले फोन गरेर केही दिन झापा ५ मा खटिदिन आग्रह गरेका थिए। ताप्लेजुङमा रहेका उनी ओलीको आग्रह पछि झापा ५ मा आएर खटिएका थिए।