नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले उपसभामुखमा श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको बताएका हुन्।
श्रम संस्कृतिकी रुबीकुमारीलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि समर्थन गरेको छ।
रूबीकुमारीको उम्मेदवारी दर्ता हुँदा प्रस्तावकमा श्रम संस्कृतिका आरेन राई र समर्थकमा रास्वपाका अशोककुमार चौधरी छन्।
उपसभामुखमा राप्रपाले पनि सांसद सरस्वती लामालाई उम्मेदवार बनाएको छ।
लामाको भने प्रस्तावक र समर्थक राप्रपाकै छन्।
राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले आज पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाले उपसभामुख पदमा राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने कुरा बताएका थिए।
‘उपसभामुख पदमा राप्रपाले उम्मेदवारी दिओस्, हामी समर्थन गर्छौं भनेर रास्वपा सभापति रवि लामिछानेले भन्नुभएको छ,’ शाहीले भनेका थिए।
सोही आधारमा रास्वपाले राप्रपाका उम्मेदवारलाई उपसभामुखमा समर्थन गर्ने खबर आएका थिए।
प्रतिनिधि सभामा श्रम संस्कृति र राप्रपा प्रतिपक्षी दल हुन्। श्रम संस्कृतिका ७ र राप्रपाका ५ जना सांसद छन्।
सभामुखमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल चैत २२ गते निर्विरोध भएका थिए। एकै दलबाट सभामुख र उपसभामुख बन्न मिल्दैन।
त्यसैले रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई सहयोग गर्ने भएको हो।
रास्वपा प्रवक्ता मनिष झाले उपसभामुख पदमा श्रम संस्कृति पार्टीलाई सहयोग गर्ने निर्णय भएको बताए।