राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रममन्त्री दीपक साहलाई पदमुक्त गर्न सिफारिस गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउने सिफारिस गरेका थिए।
श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादा दुरूपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।
निशा मेहतालाई सचेत गराउने विषय पनि यही घटनासँग जोडिएको छ।
दीपक साहकी श्रीमतीलाई स्वास्थ्य बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएर आफ्नो जिम्मेवारी निर्वाहमा गम्भीरता नदेखाएको भन्दै उनलाई पार्टी सभापति लामिछानेले सचेत गराउन सिफारिस गरेका हुन्।
'यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन सिफारिस गर्छु,' पार्टी सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई लेखेको पत्रमा उल्लेख छ।
यही सिफारिसका आधारमा प्रधानमन्त्री बालेन शाहले श्रममन्त्री साहलाई बर्खास्त गर्नुका साथै स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि बुधबार रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरेको थियो भने साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो।
मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए।
रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ। साथै, पद दुरूपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।