राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामीछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन्।
बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले रास्वपा सभापति लामिछाने आफैले फोन गरेर पार्टीको समर्थन रहेने वचन दिएको बताएका हुन्।
लामिछानेको फोनपछि आफूहरूले उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाएको उनको भनाइ छ।
रास्वपाले भने श्रम संस्कृति पार्टीकी सांसद रूबीकुमारी ठाकुरलाई समर्थन गरेको छ। रास्वपाले राप्रपालाई समर्थन नगरेपछि राप्रपा नेता शाहीले राजनीतिमा कहिलेकाहीँ तलमाथि हुने बताए।
उनले भने, ‘हामीले सबैसँग कुरा गरेर नै उम्मेदवार दर्ता गराएको हो। स्वयं रास्वपा सभापति रवि लामिछानेज्यूले नै फोन गरेरपछि हामीले उम्मेदवारी दर्ता गरेको हो, अब हामीले दर्ता गराएका छौँ, अब अरू उहाँहरूले जे गर्नुहुन्छ, जसरी गर्नुहुन्छ, गरून्। उहाँहरूले अर्कोतिर समर्थन गरेर राजनीति गर्नुहुन्छ भने गरून्, त्यसमा मेरो केही आपत्ति छैन। मैले सत्य कुरा बोल्ने हो, यथार्थ कुरा बोल्ने हो। सबै प्रतिपक्षी एक भएपछि गरेको हो, अब राजनीतिमा त्यो तलमाथि भइहाल्छ, त्यो भयो भने भोलि हामी पनि देखाउँला के भयो र।’ – न्युज एजेन्सी नेपाल