हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
केही दिन यता काठमाडौं लगायत देशका अधिकांश स्थानमा बदली तथा वर्षा भइरहेको छ। गएको चौबीस घन्टामा सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ।
विशेषगरी पूर्वी भेगमा मध्यमदेखि भारी वर्षा भएको छ। संखुवासभाको टासी गाउँ मापन केन्द्रमा पछिल्लो चौबीस घन्टामा ५३.२ मिलिमिटर वर्षा भएको छ। मोरङको हरैँचामा ४९.८ मिलिमिटर वर्षा भएको छ। झापाको कनकाइमा ४५ मिलिमिटर, अनारमनी बिर्तामा ४४.६ मिलिमिटर वर्षा मापन भएको छ ।
शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई भू-भाग तथा बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।