काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन भन्दै काठमाडौं महानगरपालिकाले वैशाख ५ गतेदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गर्ने निर्णय गरेको छ।
सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउन त्यस क्षेत्रमा शनिबार, शनिबार सवारी आवतजावत गर्न नदिने प्रबन्ध गर्न लागेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
यसअघि स्थानीय संघसंस्था, क्लब तथा समुदायको सहयोगमा चैत २८ गतेबाट उक्त क्षेत्रमा सवारी आवागमन गर्न नदिने तयारी थियो।
कार्यवाहक नगर प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सम्बद्ध कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लब र समुदायका प्रतिनिधिसहितको बैठकले वैशाख ५ गतेबाट योजना लागू गर्ने निर्णय गरेको हो।
‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो। यसको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु हाम्रो दायित्व हो,’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौं। थालिएको कामलाई दिगो बनाऔं।’
स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिने उनको भनाइ थियो।
‘स्थानीय, संघसंस्था, क्लबतथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो,’ वडाध्यक्ष योगेशकुमार खड्गीले भने, ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान पुर्याउने छ।
छलफलमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सिंह गुरुङ, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन र पैदल मार्ग व्यवस्थापन तथा सुरक्षा प्रबन्धलाई मजबुत बनाइने बताए।
‘भेहिकल फ्रि असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नम्बर २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइनेछ। यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक बाटो दिइनेछ।
यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवद्र्धन गरिनेछ। मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ। यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ।