नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ।
घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए।
चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलविरूद्ध गतिविधि सञ्चालन गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको बस्यालले जानकारी दिए।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमाले महासचिव पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसंग भारी मतान्तरले पारजित भएका थिए।
घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। तर, पछिल्लो समय उनले रास्वपाको पक्षमा गतिविधि गर्दै आएका छन्।
सामाजिक सञ्जालमार्फत उनले एमाले परित्याग गरेको घोषणा पनि गरेका थिए।
त्यो चुनावमा घोराहीमा मेयर–उपमेयरसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको थियो। वडाध्यक्ष घिमिरे अभिनेता तथा चलचित्र निर्माता हुन्। एमाले नेतृ शान्ता चौधरीको पहलमा गत निर्वाचनमा उनलाई एमालेले वडाध्यक्षको टिकट दिएको थियो।
एमाले दाङका प्रचार विभाग प्रमुख बस्यालका अनुसार वडाध्यक्ष घिमिरेलाई उक्त पदबाट हटाउन मेयर नरुलाल चौधरीलाई सिफारिस गरिएको छ।
यसअघि पार्टी अनुसाशन विपरित कार्य गरेको भन्दै एमालेले घोराही– ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पनि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो।