प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद विस्तार गर्दै रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेका छन्।
यो स्टोरीमा हामी नवनियुक्त श्रममन्त्री रामजी यादव को हुन् भन्नेबारे चर्चा गर्दैछौं।
प्रधानमन्त्री बालेन शाहले पूर्ववर्ती श्रममन्त्री दीपक साहलाई बर्खास्त गरेर रामजीले उक्त पदमा नियुक्त गरेका हुन्।
रामजी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सप्तरी-२ मा निर्वाचित भएका हुन्। ३० वर्षीय रामजीले २८ हजार ४०४ मत ल्याएका थिए। उनका निकट प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याएका थिए भने जनमत पार्टीका अध्यक्ष सिके राउत ९ हजार ८८० मत ल्याएर तेस्रो भएका थिए।
विगतमा मधेसवादी दलहरूको प्रभाव रहेको यो निर्वाचन क्षेत्रमा यसपालि जसपाका उमेश यादव र जनमतका सिके राउतलाई हराउँदै संसदीय यात्रा सुरू गरेकाले रामजी यादव चर्चामा आएका थिए।
रामजीको राजनीतिक सुरूआत भने मधेसवादी दलबाटै भएको थियो।
उनले २०७४ सालमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट राजनीति सुरू गरेको उनका निकटहरू बताउँछन्। निकटहरूका अनुसार उनले २२ वर्ष उमेर राजपाको साधारण सदस्यता लिएर राजनीति सुरू गरेका थिए।
राजपापछि उनी २०७७ सालबाट जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध भए। उनी जसपाको जिल्ला समिति सदस्य थिए।
जसपापछि उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा पनि रहे।
राजविराजको मैथिल यादव परिवारमा जन्मिएका रामजीको विवाह राजविराजका पूर्वमेयर शम्भुप्रसाद यादवकी छोरी काजल यादवसँग भएको छ। उनले आफ्ना ससुरा मेयर हुँदा उनको सचिवालयमा रहेर पनि काम गरेका थिए।
पछिल्लो समय लोसपा छाडेर उनी राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य थिए। फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघिसम्म उनी राष्ट्रिय मुक्ति पार्टीमै रहेको त्यहाँका नेताहरू बताउँछन्।
निकटहरूका अनुसार उनी निर्वाचनको केही समयअघि मात्र राष्ट्रिय मुक्ति पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका थिए र सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए।
रामजी यादवले सन् २०१७ मा काठमाडौं इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा स्नातक गरेका छन्। उनी राजनीति सँगसँगै इन्जिनियरिङ कन्सल्टेन्सी फर्ममा काम पनि गर्थे।
रास्वपाले श्रममन्त्री बनाउने निर्णय गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रामजी यादवले मधेस सँगसँगै सिंगो देश बनाउने जिम्मेवारी पाएको बताएका छन्।
पार्टीले दिएको यो नयाँ जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिक्रिया पनि उनले दिएका छन्।
यो पनि पढ्नुहोस्: