राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिले आफूलाई धोका दिएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति रवि लामिछानेले नै उपसभामुखमा प्रस्ताव गरेपछि उम्मेदवारी दिएको र अन्तिममा आफूहरूलाई धोका भएको बताएका हुन्।
रास्वपाका सभापतिबाटै सहयोगको आश्वसन पाएपछि राप्रपाका संसदहरूले सर्वसम्मत निर्णय गरेर उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन्।
'यही सन्दर्भमा हिजो बिहान एकातिर उपसभामुखको निर्वाचनको छलफलमा अन्य प्रतिपक्ष दलहरूले राप्रपालाई बाइपास गरेर छलफल चलाइरहेका थिए भने अर्कातिर रास्वपाको सभापतिबाटै सहयोगको आश्वासन गरेपछि राप्रपा संसदको सर्वसम्मत निर्णयले हामीले उपसभामुखमा उम्मेदवारी दिएका थियौं,' उनले भने।
उनले आफ्नो दलका उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको बताएका छन्।
हिजो पुरानो भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलहरूका साइन बोर्डहरू फरकफरक भएता पनि उनीहरूबीचको नीतिगत सिद्धान्त विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको उनले बताएका छन्।
यो व्यवस्थाको विकल्पमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्यो भन्नेहरू बीचको स्पष्ट कित्ता छुट्टिएको महसुस गरिएको उनले बताएका छन्।
'हाम्रो उम्मेदवारी केवल एक थान उपसभामुख पदका लागि मात्र थिएन। यो त आयातित व्यवस्था मान्नेहरू र विदेशीहरूको गोट्टी भइरहने प्रवृत्तिका विरूद्ध थियो,' उनले भनेका छन्, 'राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने महाअभियानबीचमा भिन्नता छुट्टाउने ऐतिहासिक परीक्षा थियो। जुन परीक्षामा सहभागी भइरहेका छौं र सफल भइरहेका छौं।'