श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखको उम्मेदवार रूवी ठाकुरलाई बहिनी भनेर सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा ठाकुरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै साम्पाङले संसदमा बोल्दा कोही कसैको बहिनी, कोही नातिनी, कोही बाजे, कोही मामाभान्जा भन्ने हिसाबले बोल्नु नहुने धारणा राखेका हुन्।
‘पूर्ववक्ता ज्यूहरूले कतिले हाम्रो माननीय रूबीकुमारी ठाकुरज्यूलाई रूबी बहिनी पनि भनेर यहाँनिर सम्बोधन गरेको मैले देखेँ। त्यो शब्दलाई खारेज गरियोस्। यहाँ कोही कसैको बहिनी, कोही नातिनी होइन, कोही बाजे, कोही मामाभान्जा भन्ने हिसाबले हामी यहाँ बोल्नु हुँदैन। यहाँ हामी सबै जना एकले अर्कालाई सम्मान गरेर माननीय भनेर एकले अर्कालाई बोलाइनु पर्छ भन्ने म माग गर्दछु। र, यहाँ केही पूर्ववक्ता माननीयज्यूहरूले ज्येष्ठ नागरिकलाई अलि अपमान गरेको जस्तो होइन। एउटा खुट्टा कता, एउटा खुट्टा कता भन्ने शब्द पनि प्रयोग गरियो। त्यो पनि नगरियोस्। हामी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्न सिकौं। प्रकृतिको नियम हो हामी जन्मेपछि हुर्कन्छौं, बढ्छौं, बुढो हुन्छौं, मर्छौं,’ उनले भने।
त्यो ज्येष्ठ उमेरलाई अपमान गर्ने खालको शब्द आगामी दिनहरूमा उच्चारण गर्दा ख्याल गर्न आग्रह गरे।